काठमाडौं/ आज संसारभर ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपालमा पनि राजनीतिक दल निकट महिला संघहरु तथा सामाजिक क्षेत्रमा कार्य गरिरहेका विभिन्न संघ/संस्था लगायतले यो दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी प्राप्त भएको छ । कसैले यो दिवसलाई महिलाहरुको हक र अधिकारको संघर्षको रुपमा मनाउने गरेका छन् भने कसैले यो दिवसलाई साथीसङ्गी भेला भएर रमाइलो गर्ने पर्वको रुपमा मनाउने गरेको देखिन्छ ।
यो दिवस मनाउदै गर्दा अहिले पनि राज्यको विभिन्न पदहरु तथा राजनीतिक दलहरुका नेतृत्व तहमा महिलाहरुको उपस्थिति न्युन देखिएको छ । नेपालको संविधान,२०७२ मा सबै ठाउँमा कम्तीमा महिलाको उपस्थिति ३३ प्रतिशत हुनै पर्ने व्यवस्था गरेपनि अझैसम्म पनि कतिपय सार्वजनिक श्रेत्रमा ३३ प्रतिशत महिलाको उपस्थिति रहेको पाइदैन । यता अखिल नेपाल महिला यूनियन सहितका विभिन्न महिला संघका नेताहरुले भने राज्य सहितका सबै सार्वजनिक पदमा महिलाको उपस्थिति ५० प्रतिशत भन्दा बढी हुनु पर्नेमा जोड दिइरहेको देखिन्छ ।
उता शहर बजारमा धुमधामसँग श्रमिक महिला दिवस मनाउदै गर्दा आर्थिक विपन्न तथा ग्रामीण र पिछडिएका क्षेत्रमा रहेका धेरै महिलाहरुले यो दिवस मनाउनुको अर्थ र कारण बुझ्न सकेको देखिदैन । उनीहरुका लागि यो दिवस ‘कागलाई बेल पाको हर्ष न विस्मात’ जस्तै भइरहेको पाइन्छ । राज्य तथा सरोकारवालाहरुले शोषण र उत्पीडनमा परेका महिलाहरुको हक र अधिकार दिलाउने धेयका साथ यो दिवस मनाउन सकिएमा मात्रै यो दिवसप्रति सबै महिलाको आकर्षण बढ्न सक्ने र यो दिवस मनाउनुको सार्थकता रहने जानकारहरु बताउछन् ।