सहकारी संस्थाका कर्मचारी व्यवहारमा स्वंयम् सेवक

  • बालकृष्ण धोजु

समूदायमा आधारित बचत तथा ऋण सहकारी संस्था पक्कै पनि लगानी भन्दा सेवामा बढी आधारित हुन्छ । यसले सदस्यहरुसँग छरिएर रहेको थोरै रकमहरु संकलन गरी सदस्यलाई लगानी गर्दछ । स्थापनाकालमा सहकारी संस्थाको आम्दानीका स्रोत कम हुने हुनाले कर्मचारीको व्यवस्था गर्न सक्दैन । तसर्थ, सञ्चालकले स्वयम सेवकको भूमिका निभाई कर्मचारीको आवश्यकता पूर्ति गर्ने गर्दछ । संस्था सञ्चालन गर्दै जाने क्रममा संस्था आत्मनिर्भर हुर्दै जाने देखिएपछि संस्थामा कर्मचारीको व्यवस्था गर्ने गरिन्छ । त्यसबेला नाम कर्मचारी- काम भन्ने स्वंयम सेवक जस्तै सामान्य चिया खर्चको व्यवस्था हुने गरि तलब तोकिएकोे हुन्छ । सञ्चालक समिति र कर्मचारीहरुको मेहेनतमा सदस्यहरुको साथमा संस्था आर्थिक रुपले सक्षम हुदै जान्छ । संस्थाको नाफा पनि बढ्दैं जान्छ । सदस्यलाई लाभाश प्रदान गर्न प्रतिस्पर्धा हुन्छ तर त्यही नाफा कमाउन सहयोगी भूमिका खेलेका कार्यरत कर्मचारीहरुले भने आफू संस्थाको कर्मचारी हुनुको अनुभव गर्न सक्ने वातावरण समेत पाएको हुदैंन ।

जब तलबमानको कुरा आउंछ, सहकारीका कर्मचारीलाई स्वंयम सेवक बाहेक अरु दृष्टिबाट माथि उठी हेर्न नसकेको कुरा विद्यमान सहकारी कर्मचारीको न्यून तलबमानको स्थितिले प्रष्ट पार्दछ । जसरी स्वयंम सेवकको तलबमान निर्धारणको आधार हुदैंन, त्यसरी नै सहकारी संस्थाका कर्मचारीहरुको तलब निर्धारणको आधार पल्र्स प्रणाली भए पनि सोको आधारमा दिएको पाइन्दैन । सञ्चालक समिति संस्थाले गरेको करौेडौं कारोवारमा र सदस्यले विश्वास गरेकोमा गर्व गर्छन् । सदस्यलाई हरेक बर्ष प्रतिस्पर्धी दरमा लाभांश प्रदान गर्न सकेकोमा खुशी व्यक्त गर्छन् तर कर्मचारीको तलब तथा सेवा सुविधाको सवालमा सहकारीले सरकारी स्केलमा तलब दिन सक्दैन । सहकारीमा कसले राम्रो तलब प्रदान गरेको छ र ? कर्मचारीहरुलाई जागिर खुवाउन सहकारी खोलेको होइन जस्ता हेय र अन्यायपूर्ण व्यवहारले आज सहकारी संस्थाका कर्मचारीहरुले आफ्नो काम पेशाको रुपमा ग्रहण गर्न सकिरहेको अवस्था छैन ।

समय सापेक्ष खान, लाउन, बस्न पुग्ने आधारभूत तलब नतोकी न्यूनतम पारिश्रमिकमा काम गराउने गरिन्छ । हरेक बर्षमा त्यही पारिश्रमिकको आधारमा प्रतिशतमा तलब बृद्धि गरेर गर्व गर्ने सञ्चालकहरु पनि कम छैनन् । सहकारी संस्थामा व्यवस्थापकीय संरचना तह निर्धारण गर्ने तर एउटा पियनस्तरको कर्मचारी भन्दा पनि कम तलब दिएर अधिकृत पदमा बढुवा र जिम्मेवारी दिने प्रचलन पनि कम छैन । यस किसिमको व्यवहारले सहकारी संस्थाका कर्मचारीले आफ्नो पेशामा गर्व गर्न सक्दैन । सधै दविएर, पिल्सिएर अन्यायपूर्ण व्यवहारमा आफ्ना कामहरु अगाडि बढाउन बाध्य भइरहेको अवस्था छ । बजारमा सस्तो जनशक्ति पाइन्छ भन्दैमा सहकारी संस्थामा बलियो प्रशासनिक संयन्त्र भन्दा स्वंयम सेवक भर्ती केन्द्रको रुपमा मात्र सिमित पार्न खोज्नु गलत मानसिकताको उपच हो । कर्मचारीले सहि तलब तथा सेवा सुविधाहरु समय अनुकूल र सहकारीको सामर्थ्य अनुसार व्यवस्था गरिएको छ छैन भनि अनुगमन र मुल्यांकन गर्नुपर्ने काम लेखा सुपरीवेक्षण समितिको हो तर यस विषयमा प्राय: सहकारी संस्थामा लेखा सुपरीवेक्षण समिति पनि मौन देखिन्छ ।

यस्तो प्रबृत्तिले सहकारी कर्मचारी व्यवस्थापनमा काहाली लाग्दो समस्याबाट सहकारी संस्थाहरु गुजिरहेका छन् । सहकारीमा कर्मचारीहरु नटिक्ने, कर्मचारीहरुले पूर्ण जिम्मेवारी लिन नचाहने, जिम्मेवारी पन्छाउने, आर्य आर्जनका अन्य स्रोतहरुको खोजी गरिरहने, आफ्नो कामलाई हेय दृष्टि राख्ने, सहकारीमा काम गरेर गल्ती महशुस गर्ने, मानसिक तनावमा रहने जस्ता प्रमुख समस्याहरु रहने गरेको पाइन्छ । यी समस्याहरुलाई नजर अन्दाज गर्दै समिति र सदस्यहरु नाफा बढी कमाई लाभांश बढी दिने र लिनेमा नै बढी केन्द्रित छन् ।

सहकारीमा सरकारी स्केल भन्दा राम्रो तलब दिने सहकारी पनि नभएको होइन तर यस्ता सहकारीलाई व्यवसायिक सहकारी हुन् भनी पन्छिने सहकारी संस्था पनि नभएको होइन । सहकारी संस्थालाई समाज सेवाको रुपमा प्रतिस्थापन गर्ने सोचबाट ग्रस्त छ । सहकारी आफैमा व्यवसाय हो भन्ने कुरा नबुझेको पनि होइन । व्यवसाय हो भन्ने नबुझेका भए बढी नाफा कमाउने र लाभांश बढी भन्दा बढी प्रदान गर्ने सोचको विकास हुने थिएन तर यो सोच राख्नेले करौंडौं नाफा कमाउन सहयोग गर्ने कर्मचारीहरुलाई चाहि स्वंयम सेवकको व्यवहार गर्ने कहाँसम्मको न्यायोचित व्यवहार हो ? सबैलाई दूध पोखरी बनाउने तर बनाउनेले नै पेट भरी दूध खान नपाउने प्रवृत्तिले सहकारी अभियानलाई अगाडि बढाउन कठिन हुन्छ ।

यसले सहकारीमा योग्य जनशक्तिहरुको प्रवेश र स्थिरता रहदैंन । सहकारी अभियानमा व्यवस्थापकबाट नवीनतम् सोच, प्रविधिहरुको विकास हुदैंन । यथास्थितिमा सहकारीको विकास हुदैंन । तसर्थ:, सहकारीको दिगो विकास गर्न व्यवस्थापन पक्षलाई पनि समिति र सदस्यले ध्यान दिनैपर्छ । सञ्चालक, सदस्य र व्यवस्थापन यी तीन पक्षको जीतबाट मात्र सहकारकिो जीत सम्भव छ ।

सहकारीको वित्तीय विश्लेषण र राज्यको न्यूनतम तलब मापनको आधारमा कर्मचारीको सेवा सुविधालाई समयानुकूल बृद्धि तथा समायोजन गर्दै लानुपर्दछ । आधारहिन स्वंयम सेवकको रुपमा सेवा सुविधा दिई दोस्रो दर्जाको नागरिक जस्तो अन्यपूर्ण व्यवहार त्याग्नै पर्दछ । सहकारीका कर्मचारी स्वयंम सेवक मात्र होइन कर्मठ, निष्ठावान र जिम्मेवार कर्मचारीको अनुभुत्ति दिलाउनै पर्दछ । सदस्यको मात्र आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान होइन- कर्मचारीको पनि आफ्नो पेशाावाट ती कुराहरुको उद्देश्य पुर्ति हुनुपर्छ , अनि मात्र सहकारी संस्थाको दिगो विकास हुनेमा कसैको दुईमत नहोला ।

(धोजु भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संंघ लि.का व्यवस्थापक हुनुहुन्छ । उहाँको यो विचार फेसबुक (Facebook) बाट साभार गरिएको हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *