स्ववियु चुनाव चैत ५ मा !

सम्बन्धित सरोकारवालाहरु भने त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो शैक्षिक पात्रोमा हरेक २ वर्षको फागुन १४ गते आफ्ना क्याम्पस/विद्यापीठमा स्ववियु चुनावको मिति तय गरी उक्त मितिमा स्ववियु चुनाव गर्नु पर्ने माग गरिरहेका छन् तर यता कतिपय जानकारहरु भने स्ववियुमा आर्थिक अपचलनजन्य कार्य बढ्दै गएकोले यसको औचित्यतामाथि नै प्रश्न उठ्न थालेकोले स्ववियुको क्षेत्राधिकार पुन:संरचना गरी स्ववियुलाई सम्बन्धित क्याम्पस/विद्यापीठमा रचनात्मक क्रियाकलाप सञ्चालन र शैक्षिक गुणस्तर बृद्धि कार्यमा सिमित गर्नु पर्ने खाँचो औंल्याइरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक र सम्बन्धन प्राप्त कयाम्पसहरका स्ववियु चुनाव आउदो चैत ५ गते गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । त्रिभुवन विश्वविद्यालय , विद्यार्थी कल्याण तथा खेलकूद शाखाले सो विश्वविद्यालयको कार्यकारी परिषदमा आउदो चैत ५ गते स्ववियु चुनाव गर्ने प्रस्ताव पेश गरेको बताइएको छ तर ने.वि. संघ , नेकपा (माके) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सहित केही विद्यार्थि संगठन भित्रको आन्तरिक किचलो देखेका सरोकारवालाहरु भने सो मितिमा स्ववियु चुनाव हुनेमा अझै ढुक्क देखिएका छैनन् । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/ कलेज तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका विद्यापीठमा स्ववियु निर्वाचनको माग भइरहेको छ । हरेक २ वर्षमा हुनु पर्ने स्ववियु निर्वाचन २०७३ साल पछि हुन सकेको छैन । २०६५ सालपछि एकैचोटी २०७३ सालमा भएको स्ववियुमा चुनाव अन्तर्गत काठमाडौं उपत्यका भित्रका ९ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *