६६औं राष्ट्रिय सहकारी दिवसमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ,भक्तपुरको आयोजना तथा जिल्ला सहकारी संघ लि., भक्तपुर , भक्तपुर जिल्ला कृषि सहकारी संघ लि. र भक्तपुर जिल्ला बहु्उद्देश्यीय सहकारी संघ लि.को सममन्वयमा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा २०७९ चैत्र २० गते सोमबार प्रभातफेरी कार्यक्रम सम्पन्न भयो । सो प्रभातफेरी कार्यक्रम भक्तपुरको टौमडीमा पुगेर सभामा परिणत भयो । उक्त सभालाई शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा बरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले ‘बैंक तथा वित्तीय संस्थामा जसको धेरै पूँजी हुन्छ, त्यसको बढी अधिकार हुन्छ तर सहकारीमा सदस्यको अधिकार एक व्यक्ति- एक मतका आधारमा हुने भएकोले सहकारीमा बहुमतमा मात्र निर्णय हुन्छ । सहकारी स्थानीय समुदायको आर्थिक, सामाजिक र साँस्कृतीक विकासको लागि खोलिएको हुन्छ तर राज्यका अधिकारीहरु नै स्वार्थबाट प्रेरित भई सहकारी दर्ताको विकृतीले आज सहकारीमा विकृतीहरु बढेको हो । यसको जिम्मा सरकारले लिनुपर्दछ । सहकारी सदस्यको हो । सदस्यबाटै बचत संकलन गर्ने र सदस्यलाई परिचालन गर्ने भएकोले सहकारी बचाउने नाममा राज्यबाट रकम माग्नु गलत हो । सहकारीमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्दछ ‘, भन्नुचर्छ भन्नुभयो । उहाँले व्याजको लोभमा नफस्न र सही सहकारी पहिचान गरेर मात्र त्यसको सदस्य बन्न अनुरोध गर्दै सहकारीबाट संकलित पूँजी कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहकारीको नाममा ठगी धन्दा चलाउनाले सहकारी बदनाम भइरहेको बताउदैं त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नमुना जिल्ला भएकोले आसन्न विस्केट जात्रा शान्तिपूर्वक सम्पन्न गरी ऐतिहासिक विस्केट जात्राको महिमा बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी सभामा जिल्ला सहकारी संघ लि., भक्तपुरका अध्यक्ष केदार खड्काले आर्थिक मन्दीका कारण देशमा सहकारी क्षेत्रले ठुलो संकट भोगिरहेको बताउनुभयो । सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित सञ्चालित सहकारीको विकृतीले सहकारी बदनाम भइरहेको उहाँको भनाइ थियो । उहाँले सही सहकारी चिन्नेर मात्र सदस्य भई कारोबार गर्न सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो सभाको अध्यक्षता गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहमारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधार मानेर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको बताउदै सहकारीमा सदस्यको व्यक्तिगत बचतको सीमा २५ लाख रुपैया तोक्ने गरी ऐन संशोधनको सरकारको प्रस्तावप्रति विरोध जनाउनुभयो । उहाँले तीन खम्बे अर्थनिीतिमा सहकारी पनि एक खम्बा भएकोले सो खम्बाको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीमा विकृती कहाँबाट कसरी भित्रीयो भन्ने कुरा सदस्यलाई थाहा नै नदिई सहकारी बचाउको नाममा राज्यसँग पैसा माग्दैमा समस्याको समाधान नहुने ठ‍‍ोकुवा गर्दै बर्तमान सहकारीको समस्या समाधान गर्न नियमनकारी निकायमा धाउने भन्दा संस्थाका आफ्नै सदस्यमाझ गई समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।
सभामा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला कचत तथा ऋण सहमारी संघ लि.का उपाध्यक्ष हरि बल्लले सहकारी आन्दोलन र अभियानमा कालो बादल छाएको छ, त्यो बादल कुन कारणले देखियो, सम्पुूर्ण सहकारीकर्मीहरुले मनन् गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सबै सहकारीकर्मीहरु एकजुट भएर त्यो कालो बादल हटाउनुपर्नेमा जोड दिनुभयो । उक्त सभाको सञ्चालन स‍ोही संघका सचिव जगनाथ प्रजापतीले गर्नुभयो ।

प्रभातफेरी कार्यक्रममा १६२ वटा संस्थाहरुबाट ३,५०० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *