कालीगण्डकी साकोसको आ.व. २०७९/०८० मा शेयर पूँजी रु.६,१०,००,००० पु-याउने लक्ष्य

कालीगण्डकी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो शेयर पूँजी रु.६,१०,००,००० र नाफा रु.१,५७,७४,००० पु-याउने लक्ष्य रहेको जनाएको छ । यही मंसिर २४ गते शनिबार मण्डप पार्टी हल , गोंगबु चोक , काठमाडौंमा सम्पन्न उक्त संस्थाको १७औं वार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो । काठमाडौंको टोखा नगरपालिका -९, गोंगबुमा रहेको सो संस्थाका अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा त्यसै संस्थाका सल्लाहकार मिनबहादुर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाले स्थापना भएको छोटो समयमा गरेको प्रगतिको प्रशंसा गर्दै यसको थप प्रगतिको कामना गर्नुभयो । साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष सापकोटाले शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले कोभिड-१९ जस्ता समस्याको बीचमा पनि हाम्रो यो संस्थाले निरन्तर प्रगति गर्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले परिवर्तित समय अनुरुप हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवालाई थप गुणस्तरीय बनाउदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारण सभामा उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै त्यसै संस्थाका सचिव एवं प्रबन्ध सञ्चालक गणेशबहादुर खत्रीले आर्थिक वर्ष २०७७/०७८ मा भन्दा आर्थिक वर्ष २०७८/०७९ मा यो संस्थाको शेयर सदस्य , शेयर पूँजी , कारोवार र नाफा बृद्धि भएको तथ्य प्रस्तुत गर्नुभयो । सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस संस्थाको तरलता र वित्तीय अवस्था राम्रो छ भन्दै उहाँले आर्थिक वर्ष २०७९/०८० मा पनि वित्तीय कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर , सरसफाई , सहकारी सम्बन्धी जनचेतनामूलक रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्ने जानकारी दिनुभयो ।

साधारण सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै सो संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक डिलबहादुर खत्री क्षेत्रीले यो संस्थाका सबै सूचकाङ्क राम्रो रहेको बताउनुभयो । शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाले ती प्रतिवेदनहरु पारित ग-यो ।

साधारण सभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा त्यस संस्थामा पुरुष ७२९, महिला ५६२ र संस्थागत ७ जना गरी जम्मा शेयर सदस्य १,२९८ , शेयर पूँजी रु.५,००,५१,४०० , जम्मा बचत संकलन रु.१,०२,३२,९२,१०४.७४ , कर्जा जोखिम कोषमा रु.१,००,००,०००.२४ , कर्जा लगानी रु.१,०३,१८,१४,७६०.६३ र अन्य लगानीमा रु.२८,३६,२०० रहेको र आर्थिक वर्ष २०७९/०८० मा रु.१,०८,५०,००,००० कर्जा लगानी गर्ने , कृषि तथा उत्पादनशील कार्यमा लगानी बढाउने लगायतका विषय उल्लेख छ ‌।

Leave a Reply