के.बी. उप्रेती राष्ट्रिय सहकारी बैंक लि.को पुन: अध्यक्ष बन्ने निश्चित

राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती सो बैंकको पुन: अध्यक्ष बन्ने निश्चित भएको छ । ४ बर्षे कार्यकालका लागि उक्त बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको पदाधिकारी र सदस्य चयनको निम्ति आजका लागि निर्धारित समयभित्र राष्ट्रिय सहकारी बैंक लि.को अध्यक्ष पदमा उप्रेतीको मात्रै मनोनयन परेपछि उहाँ यो बैंकको पुन: अध्यक्ष बन्ने निश्चित भएको हो । ३ जना महिला सहित १५ सदस्यीय सञ्चालक समितिका सदस्यहरु मध्ये गण्डकी प्रदेशबाट

रामबहादुर जी.सी. र मधेश प्रदेशबाट

विश्वनाथ मण्डलको मात्रै उक्त बैकको सञ्चालक समिति सदस्य पदमा उम्मेद्वारी मनोनयन भएपछि जी.सी. र मण्डल पनि राष्ट्रिय सहकारी बैंक लि.को सञ्चालक बन्ने पक्का भएको छ । यसको औपचारिक घोषणा भने यही पुस १८ गते सोमबार त्यसै बैंकको १९औं वार्षिक साधारण सभाको समापन कार्यक्रमको अवसरमा हुने छ । उक्त बैकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यको पदको उम्मेद्वारी विरुद्ध दाबी विरोध गर्ने, दावी विरोध उपर छानविन गर्ने र उम्मेद्वारी फिर्ता लिने समय सकिएर भोलि अन्तिम नामावली प्रकाशन भएपछि त्यसमा उल्लेखित भएका मध्ये यदी कुनै पदमा निर्विरोध हुन नसकेमा सो पदमा यही पुस १६ गते निर्वाचन हुने र यो निर्वाचनमा प्रदेश नं.१ बाट २,५५२ , मधेश प्रदेशबाट २,०३९, बागमती प्रदेशबाट ६,५०७, गण्डकी प्रदेशबाट १,५३५ , लुम्बिनी प्रदेशबाट १,८४१ , कर्णाली प्रदेशबाट ७४८ र सुदूर पश्चिम प्रदेशबाट ६०४ गरी जम्मा १५,७२६ जना मतदाताले मतदान गर्न पाउने जनाइएको छ । यो बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्य पदमा उम्मेद्वार निर्विरोध चयन गर्न अझै पनि प्रयत्न भइरहेको जानकारी प्राप्त भएको छ ।

सो बैंकको १९औं वार्षिक साधारण सभा अन्तर्गत यही पुस १६ गते विहान ८:०० बजे १ नं. प्रदेशका सम्पूर्ण जिल्लाहरुको इकाई बैठक विराटनगरमा , मधेश प्रदेशका सबै जिल्लाहरुको इकाई बैठक जनकपुरधाममा , बागमती प्रदेशका सबै जिल्लाहरुको इकाई बैठक काठमाडौ उपत्यका भित्र , गण्डकी प्रदेशका सबै जिल्लाहरुको इकाई बैठक पोखरामा , लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको इकाई बैठक बुटवलमा , कर्णाली प्रदेशका सबै जिल्लाहरुको इकाई बैठक सुर्खेतमा र सुदूर पश्चिम प्रदेशका सबै जिल्लाहरुको इकाई बैठक धनगढीमा हुने र ती बैठकबाट साधारण सभाको माइनटमा हस्ताक्षरका लागि छनौट गर्नुका साथै त्यस बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरु मध्ये निर्विरोध हुन नसकेका पदमा सहभागी प्रतिनिधिहरुले सोही दिन विहान ११:३० देखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने र मतदान सकिएसँगै मतपेटिका संकलन गर्ने र मतगणना पछि त्यसको परिणाम साधारण सभाका इकाई बैठकबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा यही पुस १८ गते हुने सो साधारण सभाको समापन कार्यक्रममा घोषणा गरिने र त्यहीं सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको सोही बैंकका कर्मचारीको भनाई छ । ।

यता सो बैंकको कार्तिक महिनाको तुलनामा मंसिर महिनामा तरलता बढेको जनाइएको छ । कार्तिक महिनामा तरलता १९.३९ प्रतिशत रहेकोमा मंसिर महिनामा बढेर १९.८६ पुगेको छ । कार्तिक महिनासम्ममा बचत संकलन रु.४०,७०,७९,००,००० र ऋण लगानी रु.३५,१०,२२,००,००० रहेकोमा मंसिर महिनासम्ममा भने बचत संकलन रु.४०,६८,२०,००,००० र ऋण लगानी रु.३४,७९,६८,००,००० रहेको बताइएको छ ।

Leave a Reply