कास्कीको पोखरामा सहकारीका एक व्यवस्थापकले आत्महत्या गरेका छन् । पोखरा महानगरपालिका-९ शिव टोलमा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्था लिका व्यवस्थापक तथा ह्याप्पी पानी उद्योगका सञ्चालक ३८ वर्षीय लेखुराम खातीले हिजो साँझ ७ बजेतिर घरमै झुण्डिएर आत्महत्या गरेको र उनको आत्महत्याको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय , कास्कीले जनाएको छ । आफू व्यवस्थापक रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको बैठक बसेकै दिन उनले आत्महत्या गरेकाले सोही संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न बढिरहेको दवाव र उनी आफै ऋणमा डुबेकाले उनले आत्महत्या गरेको हो कि भन्ने आशंका गरिएपनि आत्महत्याको कारण भने खुली नसकेको जनाइएको छ । उनले आत्महत्या गरेको देखेपछि उनकी श्रीमती सिर्जना खड्का बेहोस भएकाले उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पु-याइएको थियो । मृतक खातीको गोजीमा भने उनले तिर्नु पर्ने ऋणको लिष्ट भएको कागज भेटिएको प्रहरीको भनाई छ ।
पहिला सुकुम्बासी टोलमा बसोबास गरेपनि बिगत ७ वर्षदेखि भने उनको परिवार सुकुम्बासी टोल नजिकै जग्गा किनेर बसोबास गर्दै आएको र उनी ऋणमा डुबेको उनका छिमेकीहरु बताउछन् । उनका श्रीमती , छोरा र छोरी छन् ।





