नयाँपाटी साकोसको आ.व. २०७८/०७९ को मुनाफा रु.३ करोड ५१ लाख

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीमा आफ्नै भवनमा प्रधान कार्यालय तथा गोकर्णेश्वर नगरपालिका-६, जोरपारी र कागेश्वरी मनोहरा नगरपालिका-१, गागलफेदीमा सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई प्रविधि मैत्री गुणस्तरीय सेवा प्रवाह गरिरहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०७९ मा शेयर सदस्यहरु बीच गरेको कारोवारबाट रु.३ करोड ५१ लाख मुनाफा आर्जन गरेको जनाइएको छ । सो संस्थाको यही असोज २९ गते गोकर्णेश्वर नगरपालिका-९ , भगवतीस्थान स्थित सुनगाभा पार्टी प्यालेसमा सम्पन्न २५औं वार्षिक सभामा प्रस्तुत भई सो सभाबाट पारित भएका प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । ती प्रतिवेदनमा समाजमा छरिएर रहेको स-सानो रकमलाई संकलन गरी त्यसबाट आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पु-याउने उद्देश्यले २०५४ सालको चैत्र महिनामा २८ जना युवाहरुले रु.२,८०० शेयर पूँजीबाट नयाँपाटीमा स्थापना गरेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा शेयर सदस्य संख्या ४९८९ , शेयर पूँजी रु.१२ करोड ८२ लाख , संस्थागत पूँजी रु.८ करोड ७९ लाख , निक्षेप संकंलन रु.८० करोड १२ लाख , कर्जा लगानी रु.८१ करोड ७३ लाख र कूल कारोवार रु.१ अर्व १३ करोड ४८ लाख रहेको उल्लेख छ ।

उक्त साधारण सभाको राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष मिनराज कँडेलले उद्घाटन गर्नुभएको थियो । सो सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष कँडेलले देशको राष्ट्रिय अर्थतन्त्रका तीन खम्बा मध्येको एक खम्बाको रुपमा रहेको सहकारीले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको र मुलुकमा विद्यमान गरिवी न्युनीकरण गर्न र मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भएकोले यसको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउदै सहकारीलाई मर्यादित सामाजिक व्यवसायको रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौंको पूर्वी भेगमा समुदाय आधारित रहेर काठमाडौंका उत्कृष्ट सहकारी संस्थाहरुमध्यको एउटा संस्थाको रुपमख अगाडि बढिरहेको नयाँपाटी साकोसको प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो रहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले समुदाय आधारित रही सहकारी सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसात गरी सञ्चालन भएका सहकारी संस्थाहरुको अवस्था राम्रो रहेको बताउदै नयाँपाटी साकोसले सहकारी एकीकरणको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले यो संस्थाले यस क्षेत्रका धेरै स्थानीयबासीहरुलाई समेटेर गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभएको थियो । उक्त साधारण सभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष गौतम खनालले “म्पूर्ण वित्तीय समस्या समाधानको पहिलो छनौट- नयाँपाटी साकोस” भन्ने परिकल्पना बोकेर स्थापना भएको हाम्रो यो संस्था सदस्यको सन्तुष्टि नै संस्थाको सफलता हो भन्ने उद्देश्यका अगाडि बढिरहेको छ भन्दै हाम्रो यस संस्थाका शेयर सदस्य ज्यूहरुको निरन्तर साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले आफ्नो २५औं वार्षिक साधारण सभासम्म आइपुग्दा यसले उल्लेख्य प्रगति गर्न सफल भएको भन्दै त्यसका लागि सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले त्यस संस्थाको गतिविधिको बारेमा प्रकाश पार्दै हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहज रुपमा छिटो छरितो वित्तीय सहितका सेवा प्रवाहका लागि एटीएम सेवा, युटिलिटी पेमेण्ट सेवा , स्मार्ट मोबाइल बैंकिङ्ग सेवा , रेमिट्यान्स सेवा र ३६५ दिने सेवा र सुविधा प्रवाह गर्दै आएको बताउनुभयो ।

त्यसै संस्थाका सचिव चिरञ्जीवी सिम्खडाले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष वशन्तकुमार पण्डितले प्रस्तुत गरेको संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन शेयर सदसृयहरु बीच छलफल गरी पारित गरेको थियो । ती प्रतिवेदनमा यो संस्थाले सञ्चालन गरेका लघुवित्त कार्यक्रममा १५६ वटा समूह मा ३,३३७ जना महिला आवद्ध रहेको उल्लेख हुनुका साथै यस संस्थाले व्यवसायिक कृषि र पशुपालनमा आवद्ध शेयर सदस्यहरुलाई व्यवसायको प्रकृति र अवस्था हेरी रु.३० लाखसम्म सहुलियत व्याजदरमा कर्जा लगानी गरेको उल्लेख छ ।

सोही दिन स्वास्थ्य विशेषज्ञहरुको प्रविधिक सहयोग रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिवीर र दन्त परीक्षण कार्यक्रम पनि सम्पन्न भएको थियो । उक्त स्वास्थ्य शिवीर र दन्त परीक्षण कार्यक्रममा त्यसै संस्थाका शेयर सदस्यहरु, कर्मचारी लगायतको स्वास्थ्य र दन्त परीक्षण गरिएको बताइएको छ ।

निरन्तर प्रगतिपथमा अगाडि बढी काठमाडौं पूर्वी भेगमा अब्बल संस्थाको रुपमा स्थापित भएको यो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा रक्तदान , स्वास्थ्य शिवीर , सामाजिक सचेतना , शिक्षा/ तालिम अन्तर्क्रिया , गोष्ठि जस्ता रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

Leave a Reply