ललितपुरको गोदाबारी नगरपालिका -१२, ठेचोमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाले अजय मालीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा रत्नकाजी माली , सचिवमा ऋषि महर्जन , कोषाध्यक्षमा राजु माली तथा सदस्यमा राधिका महर्जन , बैकुण्ठ माली र राजेन्द्र माली हुनुहुन्छ । त्यसैगरी उक्त संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा सपना माली तथा सदस्यमा विकास माली र विनिता माली चयन हुनुभएको छ ।


यही मंसिर १० गते फुलचोकी बैङ्क्वेट , तरङ्खेलमा सम्पन्न उक्त साधारण सभाको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईँले दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले स्थानीय समुदायमा आधारित नवदुर्गा साकोसको प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो रहेकोले यस संस्थाका शेयर सदस्यहरुले ढुक्क भएर यो संस्थामा कारोबार गर्न आग्रह गर्नुभयो । सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी समुदायमा आधारित रहेर सञ्चालन भएका सहकारी संस्थाहरुको तरलता र वित्तीय अवस्था राम्रो रहेको बताउदै उहाँले सहकारीलाई नीति , विधि र प्रविधिमा आधारित भएर सञ्चालन गर्दै लानु पर्ने खाचो औंल्याउनुभयो । सोही अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै बागमती प्रदेश सहकारी संघ लि.की सञ्चालक अम्बिका थापा र जिल्ला सहकारी संघ लि., ललितपुरका कोषाध्यक्ष रुपेश तिमिल्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको आवश्कताको बारेमा प्रकाश पार्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा उक्त संस्थाका अध्यक्ष न्हुछेराम महर्जनले सो संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘एकका लागि सबै , सबैका लागि एक‘ भन्ने सहकारीको मूल मन्त्रलाई आत्मसाथ गरी सहकारी सिद्धान्त, मुल्य र मान्यता अनुरुप सदस्य केन्द्रित सेवा प्रदान गर्दै आइरहेको हाम्रो यो संस्था सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुको सक्रियता , शेयर सदस्य ज्यूहरुको निरन्तर साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले प्रतिकूल अवस्थामा पनि निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकिरहेको छ भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले ‘ हाम्रो यस संस्थाले गोदाबारी नगरपालिका वडा नं.१०,११ र १२ तथा ललितपुर महानगरपालिका वडा नं.२२,२३,२४,२६ र २७ भित्र रहेको आफ्नो कार्यक्षेत्र भित्रका महिला दिदीबहिनीहरुलाई आर्थिक तथा सामाजिक उत्थानका लागि बचत तथा ऋण सहूह गठन गयरी नियमित बचत गर्ने बानीको विकास तथा आय आर्जनका लागि विभिन्न सीपहरु सिकाउनका लागि एकत्रित कार्य भइरहेको छ र हाल १७ वटा बचत तथा ऋण महिला समूह गठन भई नियमित बचत गरिरहनुभएको छ भने केही सदस्यले कर्जा सेवा लिई आफ्नो व्यापार व्यवसाय विस्तार गरिरहनुभएको छ’, भन्नुभयो । ‘आईएमई रेमिट , वेष्टर्न युनियन मनी ट्रान्सफर रेमिट , हिमाल रेमिट , प्रभु रेमिट्यान्स , सिटी एक्सप्रेस मनी ट्रान्सफर , जीएमई रेमिट , मनिग्राम, जेएमई रेमिट र एनआईसी एसिया रेमिटबाट आफ्ना शेयर सदस्यहरुलाई रेमिट्यान्स सेवा प्रवाह गरिरहेको हाम्रो यो संस्थाले आर्थिक वर्ष २०७८/०७९ देखि सम्सरा रेमिट र ई-सेवा रेमिट्यान्स थप गरेको छ’, उहाँको भनाई थियो ।

साधारण सभामा त्यसै संस्थाका कोषाध्यक्ष राजु मालीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बैकुण्ठ मालीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारण सभाबाट शेयर सदस्यहरु बीच छलफल गरी ती प्रतिवेदनहरु पारित भएका थिए । साधारण सभाबाट एम.बैंकसँगको सहकार्यमा मोवाइल बैंकिङ सेवा शुरु गरिएको छ । प्रविधि मार्फत आफ्ना शेयर सदस्यहरुलाई थप सहज ढंगबाट सेवा प्रवाह गर्ने गर्ने उद्देश्यले हाम्रो यस संस्थाले मोवाइल बैंकिङ सेवा शुरु गरेको सो संस्थाका सचिव बशन्त मालीले बताउनुभयो ।

साधारण सभामा उक्त संस्थाका अध्यक्ष महर्जनले साधारण सभाका प्रमुख अतिथि रामहरि बजगाईँलाई मायाको चिनो प्रदान गर्नुभयो । त्यसै अवसरमा सो संस्थाका उत्कृष्ट शेयर सदस्य , उत्कृष्ट नियमित बचतकर्ता र उत्कृष्ट कारोवार गरेका शेयर सदस्य तथा सोही संस्थामा १० वर्ष सेवा अवधि पूरा गर्नु भएका कर्मचारी सुनिल मालीलाई पुरस्कार सहित सम्मान गरियो ।
