राष्ट्रिय सहकारी बैंक लि.को १९औं वार्षिक साधारण सभा केही बेर अघिबाट शुरु भएको छ । सहकारी विभागको निर्देशन पालना गरी शुरु भएको यो साधारण सभा अन्तर्गत यतिबेला ७ वटै प्रदेशमा इकाई भेलाहरु शुरु भएका छन् । यसैक्रममा १ नं. प्रदेशका सबै जिल्लाहरुको ईकाई भेला विराटनगर , मधेश प्रदेशका सबै जिल्लाहरुको ईकाई भेला जनकपुर , बागमती प्रदेशका सबै जिल्लाहरुको ईकाई भेला काठमाडौं , गण्डकी प्रदेशका सबै जिल्लाहरुको इकाई भेला पोखरा , लुम्बिनी प्रदेशका सबै जिल्लाहरुको ईकाई भेला बुटवल , कर्णाली प्रदेशका सबै जिल्लाहरुको इकाई भेला सुर्खेत र सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुको ईकाई भेला धनगढीमा आज विहान ८ बजेबाट शुरु भएको सो बैंकले जनाएको छ । बिहान ११ बजेसम्म सञ्चालन हुने ती भेलामा सो बैंकको वार्षिक प्रतिवेदन , प्रस्तावित बजेट र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ । ती भेलाहरुबाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा यही पुस १८ गते काठमाडौंमा साधारण सभाको समापन कार्य हुने सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताउनुभएको छ ।


ती भेला सम्पन्न सम्पन्न भएपछि भेलामा उपस्थित प्रतिनिधिहरुले भोटिङ मेसिनको माध्यमबाट उक्त बैंकको सञ्चालक समितिका खुल्लातर्फका ४ र कर्णाली प्रदेशको तर्फबाट १ गरी ५ सञ्चालक र लेखा सुपरीवेक्षण समितिका दुई सदस्य पदका उम्मेद्वारलाई मतदान गर्ने कार्यक्रम रहेको बताइएको छ । मतदान आज बिहान ११:३० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने र त्यस लगत्तै मतपेटिका संकलन गरी मतदान गर्ने निर्वाचन समितिको कार्यतालिका रहेको सो बैंकले जनाएको छ ।
यसै सन्दर्भमा उक्त बैंकले यही शुक्रबार पत्रकार भेटघाटको आयोजना गरी सो बैंकको १९औं बार्षिक साधारण सभा तथा बैंकको समग्र वित्तीय अवस्था बारेमा जानकारी दिइएको थियो । सो बैंकले सदस्य संस्थाहरुलाई प्रवाह गरेको कर्जामध्ये ५३ प्रतिशत कर्जा ती सदस्य संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा प्रवाह गरेको बताउदै सोही बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले यस बैंकले नाफालाई भन्दा सदस्यहरुको सेवालाई जोड दिएको बताउनुभएको थियो । त्यसै अवसरमा उक्त बैंकका अध्यक्ष के.बी. उप्रेतीले यस बैंकको भवन निर्माणको निम्ति काठमाडौंको टेकूमा ३२ आना जग्गा खरीद गरेको बताउदै अबको कार्यकालमा यो बैंकको थप संरचना बिस्तार , छुट्टै कुप बैंक ऐन निर्माणको पहल लगायतका कार्य गर्ने बताउनुभएको थियो ।

