लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८१/०८२ को अर्ध-वार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष एवं सो संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८१ फाल्गुण ५ गत् सोमबार सम्पन्न भयो । कार्यक्रममामा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थाहरुले विभिन्न माध्यमबाट सदस्यहरुलाई जानकारीमूलक सुचनाहरु नियमित रुपमा प्रवाहित गर्नुपर्ने बताउनुभयो । समाज परिवर्तनको मुख्य आधारको रुपमा समुदायमा आधारित सहकारीहरुले प्रमुख भूमिका खेल्नुपर्ने बताउदै उहाँले आर्थिक पारदर्शिताले नै सहकारीप्रति विश्वास बढ्ने विचार व्यक्त गर्नुभयो । यही फागुन ८ गते भक्तपुरमा सहिद दिवस मनाउनुको अन्तर्य खोतल्दै उहाँले पञ्चायती निरंकुशता अन्त्यको बीउ भक्तपुरबाट रोपेको बताउनुभयो । नेपाल मजदुर किसान पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भको रुपमा रहेकोले यही फागुन १६ गतेदेखि हुन गइरहेको पार्टीको ८औं महाधिवेशनको सफलताको कामना गर्दै उहाँले विभिन्न समयमा पार्टीबाट आयोजना गरेका भक्तपुर काठमाडौं -यालीबाट प्राप्त महत्वपूर्ण उपलब्धीहरुको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका २ का वडा जनप्रतिनिधि एवं उक्त संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले सरकारबाट जारी गरेको सहकारी अध्यादेशले ठुलालाई चैन- सानालाई ऐन हुन टेवा पुग्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले नगरभित्रका समस्याग्रस्त सहकारीहरुको नियमित अनुगमन एवं पहिचान गरी जनतालाई सुसुचित पार्ने कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरलाई नमुना नगरको रुपमा विकास गर्न शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, प्रविधि तथा नैतिक शिक्षालाई पनि उतिकै जोड दिदै अगाडि बढिरहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको उद्देश्यलाई टेवा पु-याउन नगरभित्रका सहकारीहरुबाट हातेमालो गरि अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सोही संस्थाका अध्यक्ष
राजन जतिले संस्था स्थापनाकालदेखि नै सदस्यहरुको आर्थिक तथा सामाजिक विकासको लागि समय सापेक्ष विभिन्न गतिविधिहरु गरिरहेको बताउनुभयो । सरकारबाट जारी भएको सहकारी सम्बन्धी अध्यादेशले समुदायमा आधारित सहकारीको हित नहुने औल्याउदै अध्यादेमा संशोधन गर्नुपर्ने बुदाहरु सम्बन्धी जानकारी दिनुभयो । उहाँले यस संस्थाले विभिन्न सहकारीहरुमा देखिएका समस्याहरुको मिहिन विश्लेषण गर्दै सदस्यहरुको निक्षेप सुरक्षण सहित ऋणीहरुको व्यवसायिक प्रगतिको लागि प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै त्यसै संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुजखुले सहकारी सम्बन्धी अध्यादेशलाई परिमार्जनको लागि सम्पूर्ण सहकारीकर्मीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सो संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले संस्थाको लेखा प्रतिवेदन, सचिव राजु छुकांले संस्थाको अर्ध-वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको आर्थिक प्रतिवेदन र विभिन्न ९ वटा उप-समितिहरुबाट आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।