काठमाडौं/ सहकारीको विकास र प्रवर्द्धनमा नकारात्मक अशर पर्ने गरी सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण हुँदा पनि सहकारीका छाता संगठन मौन रहेको भन्दै ‘सहकारीकर्मी रहुँला कहाँ- सहकारी नै नरहे‘ भन्दै सहकारी अभियानका नेताहरुको ध्यानाकर्षण गरिएको छ । १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सक्रिय सहकारी सञ्जालको आयोजनामा यही असार १७ गते शुक्रबार काठमाडौंको डल्लुस्थित सैलभा ट्रेड टावरमा सम्पन्न सहकारीको अवस्था बारे बहस तथा अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरुले सो ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता र सोही महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष कृष्णबहादुर उप्रेतीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता गर्दै सक्रिय सहकारी सञ्जालकी अध्यक्ष अमरावती बलामी महर्जनले राज्यको नियमनकारी निकायले बेलाबेलामा जारी गर्ने नीति नियमको एउटा कर्मचारीले अध्ययन गर्दागर्दै उसको सरुवा हुने र त्यसको कार्यान्वयन गर्न अर्को कर्मचारी आईपुग्ने तर अगाडि र पछाडिको कर्मचारीमा उक्त नीति र कार्यक्रमको बुझाईमा एकरुपता हुन नसक्ता सो नीति तथा कार्यक्रमको राम्रोसँग कार्यान्वयनमा समस्या हुने र त्यसको कार्यान्वयन राम्रोसँग भएको छ कि छैन भनेर हेर्ने राज्यको नियमनकारी निकायको अनुगमन कार्य पनि फितलो रहेको बताउनुभयो । एकातिर राज्यको एउटा नियमनकारी निकायले सहकारी एकीकरणको कुरा गर्ने र अर्कोतिर राज्यका अर्को नियमनकारी निकायबाट नयाँ सहकारी दर्ता गर्ने कार्य हुँदा त्यसबाट सहकारीमा अन्यौलको स्थिति रहेको बताउदै उहाँले ‘दर्ता हुँदाको उद्देश्य अनुरुप सहकारी संघ/संस्थाहरुले कार्य गरेका छन् कि छैनन् भनेर राज्यको नियमनकारी निकायबाट राम्रो सँग अनुगमन र निरीक्षण हुन नसक्ता सहकारी क्षेत्रमा जटिलताको अवस्था उत्पन्न हुन सक्ने देखिएकोले राज्यका नियमनकारी निकायबाट राम्रो सँग सहकारीको अनुगमन र सुपरीवेक्षण भई सहकारीलाई व्यवस्थित, मर्यादित र प्रवर्द्धन हुने गरी कार्य हुनु आवश्यक रहेको र सहकारीका छाता संगठनहरुले सहकारी संस्थाहरुको विकास र प्रवर्द्धन हुन सहयोग पुग्ने गरी कार्य गर्नु आवश्यक छ’, भन्नुभयो । ‘हामी जुन ठाउँ या क्षेत्रमा रहेर काम गर्छौं , त्यो ठाउँ या क्षेत्रमा हामीले थोरै नै भएपनि राम्रो/ असल कार्य गरौं’, उहाँले अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रम सञ्चालन गर्दै सोही सञ्जालका सदस्य तथा तीर्थ बचत तथा ऋण सहकारी संस्था लि.,चावहिलका अध्यक्ष अनन्त श्रेष्ठले उक्त सञ्जालको तर्फबाट “१. सहकारी सञ्चालनको मापदण्डलाई भूगोलमैत्री बनाउन पहल गर्नु हुन , २.कालो सूचीमा सूचीकृत गर्ने अवस्था सहितको कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणको गठनको लागि पहल गर्नु हुन , ३. राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा यति ठूलो योगदान दिने सहकारी क्षेत्रमा यति ठूलो आक्रमण हुँदा समेत छाता संगठनहरु तथा राष्ट्रिय सहकारी महासंघको स्पष्ट धारणा नआएकोले सो विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु हुन , ४. अधिकांश समस्याग्रस्त सहकारीहरु ‘खाएर भन्दा खुवाएर’ समस्यामा परेकाले सो को छानविन गरी कर्जा असुलीमा सहजीकरणका लागि आवश्यक पहल गरी दिनु हुन र ५. यति धेरै सहकारी सहकारीहरुमा अत्यन्त न्युन सहकारीमा समस्यामा पर्दा पूरा सहकारी क्षेत्रलाई नै बद्नाम गर्ने गरी नकारात्मक रुपमा सूचना सम्प्रेषण भइरहेकोले सो अवस्थालाई चिर्नको लागि पत्रकार सम्मेलन मार्फत आवश्यक सूचना सम्प्रेषण गरी दिनु हुन’ भन्ने व्यहोराको ५ बुँदे ध्यानाकर्षण त्यसै कार्यक्रमका प्रमुख अतिथि , विशेष अतिथि लगायत समक्ष प्रस्तुत गर्नुभयो भने त्यसलाई कार्यक्रमकी अध्यक्ष तथा सक्रिय सहकारी सञ्जालकी अध्यक्ष महर्जनले प्रमुख अतिथि कँडेललाई बुझाउनु भएको थियो ।
उक्त ध्यानाकर्षण पत्र ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथि कँडेलले कोभिड र रसिया-युक्रेन युद्धका कारण विषय परिस्थिति निर्माण भएकोले यो विषम परिस्थितिमा हामी सबैले सहकारीलाई थप राम्रो बनाउनुपर्छ भन्नुभयो । उहाँले सहकारीलाई अशर पुग्ने गरी सम्प्रेषण भइरहेका अफवाह र नकारात्मक समाचारलाई चिर्ने गरी राष्ट्रिय सहकारी महासंघले पत्रकारसँग अन्तर्किया गर्ने जस्ता कार्य गर्ने र अरु संघहरुलाई पनि यो कार्य गर्न आफूले भन्ने बताउनुभयो । त्यसै कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष उप्रेतीले सहकारी अभियानले सहकारीको विरुद्धमा भएका आक्रमणको प्रतिबाद गर्नु पर्नेमा जोड दिनु हुदै सहकारीमा सुशासन कायम गरी राम्रोसँग सञ्चालन भएका सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि.को साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चावहिलका अध्यक्ष राजनप्रसाद पौडेलले बक्ताहरुले व्यक्त गर्नु भएको विचार टिपोट गर्नु भएको उक्त कार्यक्रमका सहभागीहरुले बचतकर्ता सदस्यले सहकारी संस्थामा जम्मा गरेको बचत यदी कुनै सहकारी संस्थाले फिर्ता गर्न नसकेमा सम्बन्धित सहकारीका सञ्चालक तथा कर्मचारीहरु माथि कानुनी कारबाही हुने तर नियम संगत ढंगबाट सहकारीले प्रवाहले गरेको ऋण ऐन नियम अनुरुप असुल हुन नसकेमा त्यसको लागि सहकारीलाई नियमनकारी निकाय लगायतको सहयोग नहुदा समस्या भएको गुनासो गरेका थिए ।
जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंकी सञ्चालक तथा उपासना महिला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सितापाइला , काठमाडौंकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा काठमाडौं र ललितपुरका ३४ वटा सहकारी संस्थाहरु आवद्ध रहेको सक्रिय सहकारी सञ्जालले सहकारीको विकास र प्रवर्द्धनका लागि रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।