आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ललितपुरका दुई सहकारीकर्मीले स्वतन्त्र उम्मेद्वारी मनोनयन गरेका छन् । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले प्रतिनिधि सभाको लागि ललितपुरको क्षेत्र नं.३ बाट र बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले बागमती प्रदेशको लागि ललितपुरको क्षेत्र नं.३(क) बाट प्रत्यक्ष तर्फ स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नु भएको हो ।
ललितपुरको नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील महर्जनद्वय ललितपुर क्षेत्र नं.३ (क)बाट बागमती प्रदेश सभा सदस्यको उम्मेद्वारको लागि नेपाली कांग्रेसको क्षेत्रीय समन्वय समितिबाट सिफारिस हुनुभएको थियो ।
उहाँहरुले दलीय स्वार्थ र सिण्डिकेट , अपवित्र गठबन्धन तथा सैद्धान्तिक र वैचारिकता बिहिन प्रवृत्ति बढेकाले त्यस बिरुद्ध आफूहरु उम्मेद्वार बनेको बताउनुभएको छ ।