सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिका-३, बोलाछेंमा निर्मित आफ्नै भवनबाट आफ्नो वित्तीय सेवा शुरु गरेको छ । सो संस्था स्थापना भएको रजत वर्ष प्रवेशको उपलक्ष्यमा आइतबार सोही भवनमा आयोजित

कार्यक्रमका बीच उक्त संस्थाको केन्द्रीय कार्यालय त्यसै भवनबाट सञ्चालन शुभारम्भ गरिएको हो । सो संस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय र त्यस संस्थाका पूर्व अध्यक्ष एवं संस्थापक सदस्य राजेशबहादुर श्रेष्ठले संयुक्त रुपमा खुत्रुकेमा रुपैया जम्मा गरी सोही भवनबाट त्यस संस्थाको कारोवार शुरु गर्नुका साथो त्यसै संस्थाको रजत वर्षको लोगो लोकार्पण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उक्त संस्थाका पूर्व अध्यक्ष एवं संस्थापक सदस्य राजेशबहादुर श्रेष्ठले एक हजार रुपैयाबाट कारोवार शुरु गरेको हाम्रो यस संस्थाले स्थापना भएको २५औं वर्षमा प्रवेश गरिरहेको यो अवस्थामा रु.७२ करोडको हाराहारीमा पुग्न सक्नु गर्वको विषय भएको भन्दै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्दै त्यसै संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले सो संस्थाको वित्तीय अवस्था , गतिविधि ,योजना र कार्यक्रमको बारेमा प्रकाश पार्दै सबैको साथ र सहयोगले गर्दा नै हाम्रो यो संस्थाले निरन्तर प्रगति हासिल गरी सहकारी क्षेत्रमा आफ्नो छुट्टै परिचय निर्माण गर्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । कार्यक्रममा उक्त संस्ताका उपाध्यक्ष तथा रजत वर्ष मूल समारोह उप-समितिका संयोजक राजभाइ भेलेले स्वागत मन्तव्य व्यक्त गर्दै सो संस्थाको रजतवर्षको अवसरमा एक वर्षभरी सञ्चालन गर्ने कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभयो । उहाँले यो कार्यक्रमक अवसरमा यस संस्थाका शेयर सदस्य महानुभावहरुबाट रु.१६,४४,७०० बचत संकलन भएको बताउदै यही असोज २९ गतेसम्म संस्थाको सदस्यता नि:शुल्क वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । उक्त संस्थाका सचिव कृष्णहरि सैंजुले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा ३८ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा सोही संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक नित्यनाथ श्रेष्ठ , त्यसै संस्थासँग एकीकरण भएका साविकको बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट चन्द्रकुमार तामाङ र समता बचत तथा ऋण सहकारी संस्था लि.का तर्फबाट चन्द्रलाल भोमी लगायतले सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्षको सफलताको कामना गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।



बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. र समता बचत तथा ऋण सहकारी संस्था लि सँग एकीकरण गरेर अगाडि बढिरहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.ले केन्द्रीय कार्यालय सहित थप २ वटा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
