स्वास्थ्य वीमा कार्यक्रम बन्द गर्ने त्रि.वि.शिक्षण अस्पतालको निर्णयले विरामी मारमा

काठमाडौं/ काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालले आउदो असार १५ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम अर्को सूचना जारी नहुदासम्म बन्द गर्ने शुक्रबार निर्णय गरेसँगै स्वास्थ्य वीमाको माध्यमबाट सो अस्पतालमा स्वास्थ्य उपचार सेवा लिने विरामीहरुलाई मार पर्ने देखिएको छ । बिगत डेढ बर्षदेखिको ८ करोड रुपैया भुक्तानी नपाउदा औषधि किन्ने लगायतका समस्या उत्पन्न भएको र स्वास्थ्य वीमा बोर्डले पनि सो रकम भुक्तानी गर्न इच्छा नदेखाएको भन्दै आफूले २०७७ मंसिरबाट सञ्चालन गर्दै आएको स्वास्थ्य वीमा कार्यक्रम बन्द बन्द गर्नु पर्ने अवस्था आएको उक्त अस्पतालको भनाई छ । सरोकारवालाहरुले भने यो सेवा सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने माग गरेका छन् ।

त्रि.वि. शिक्षण अस्पतालमा दैनिकजसो ४५० को हाराहारीमा बिरामीले स्वास्थ्य वीमा मार्फत स्वास्थ्य उपचार सेवा लिइरहेको उक्त अस्पतालले जनाएको छ ।

यस्तै कारणले गत वर्ष भक्तपुरको मध्यपुर थिमिमा रहेको नेपाल- कोरिया मैत्री अस्पतालले पनि स्वास्थ्य वीमा बोर्डबाट आफूले भुक्तानी पाउनु पर्ने रकम नपाएको भन्दै स्वास्थ्य वीमा कार्यक्रम बन्द गर्ने निर्णय गर्दा त्यहाँ स्वास्थ्य वीमा मार्फत उपचार सेवा दिदै आएका विरामीहरु दु:खी बनेको देखिएको थियो ।

२०७२ चैत २१ गतेबाट २५ जिल्लालाई लक्षित गरी शुरु भएको स्वास्थ्य वीमा कार्यक्रम स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल सहित ४४० वटा स्वास्थ्य संस्थाबाट कार्यान्वयन भइरहेको बताईएको छ । २५ जिल्लाबाट बढाएर हाल देशका विभिन्न जिल्लामा लागू गरिएको स्वास्थ्य वीमा कार्यक्रमले आर्थिक विपन्न परिवारको स्वास्थ्य उपचारमा टेवा पु-याएको यसलाई थप प्रभावकारी बनाउनु पर्ने माग बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *