ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुला डा सिल्भाको राष्ट्रिय एकतामा जोड

ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रिय एकतामा जोड दिनुभएको छ । मतदाताहरुलाई सम्बोधन गर्दै उहाँले मैले शासनसत्ता सञ्चालन गर्ने भनेको मलाई भोट दिनेहरुका लागि मात्रै नभई २१ करोड ब्राजिलियन नागरिकहरुका लागि हो । हामी एउटै ब्राजिल र ब्राजिलियन हों । यहाँ दुइटा ब्राजिल हुने कुरै छैन भन्नुभएको छ ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि यही अक्टोबर ३० मा पुन: सम्पन्न भएको दोश्रो चरणको ब्राजिलको राष्ट्रपति पदको निर्वाचनमा पूर्व राष्ट्रपति लुला डा सिल्भा ५०.९० मत प्राप्त गरी विजयी हुनुभएको हो । बर्तमान राष्ट्रपति जाइर बोल्सानारोका विवादित कार्य तथा बेरोजगारी र भोकमरीको अन्तलाई मुख्य मुद्धा बनाउनुभएको थियो । उहाँका प्रतिद्वन्दी बर्तमान राष्ट्रपति बोल्सोनारोले ४९.१० प्रतिशत मत प्राप्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । संयुक्त राज्य अमेरिकाका निकट मानिने उग्र दक्षिणपन्थी बोल्सोनारोको राष्ट्रपति पदको निर्वाचनमा भएको यो पराजयले संयुक्त राज्य अमेरिका सहितका पूँजीवादी देशहरुको स्वार्थमा धक्का लाग्न सक्ने जानकारहरु बताउछन् ।

ब्राजिलको श्रमिक आन्दोलनको नेतृत्व गरेका ७७ वर्षीय नव निर्वाचित राष्ट्रपति लुला यस अगाडि दुई पटक ब्राजिलको राष्ट्रपति बनेर ब्राजिलको गरिवी निवारण र त्यहाँकै अर्थतन्त्रलाई मजबूत बनाउने कार्यमा सफलता हासिल गर्नु भएको थियो । यस अघि आफू राष्ट्रपति हुदा ब्राजिलको अर्थतन्त्रलाई मजबुत बनाउन सफल भएका लुलाले कोभिड लगायतबाट खस्किएको ब्राजिलको अर्थतन्त्र र एकतालाई बलियो बनाउने धेरैको अपेक्षा रहेको देखिन्छ । लुला राष्ट्रपतिमा निर्वाचित भएसँगै निष्क्रिय जस्तै बनेको रुस, चीन , भारत , ब्राजिल र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स पुन: गतिशील हुन सक्ने अपेक्षा शुरु भएको छ । सन् २०२३ को जनवरीबाट लुलाले ब्राजिलको राष्ट्रपतिको कार्यभार सम्हाल्नु हुने जानकारहरुको भनाई छ ।

उहाँलाई विभिन्न देशका राष्ट्र प्रमुख लगायतले शुभकामना व्यक्त गर्दै राष्ट्रपतिको सफल कार्यकालको कामना गरेका छन् ।

Leave a Reply