श्रीलंकाको राष्ट्रपति पदमा रनिल विक्रमासिङ्घे निर्वाचित

काठमाडौं/ अन्तत: श्रीलंकाको राष्ट्रपति पदमा कार्यबहाक राष्ट्रपति रनिल बिक्रमासिङ्घे निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आज श्रीलंकाको संसदमा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा १३४ मत प्राप्त गरी राष्ट्रपति पदका उम्मेद्वार बिक्रमासिङ्घे निर्वाचित हुनुभएको हो । राष्ट्रपति पदका अर्का उम्मेद्वार अलास अलापेरुमाले ८२ मत प्राप्त गर्नु भएको बताइएको छ । राष्ट्रपति पदको निर्वाचनमा श्रीलंकाको संसदमा २२३ मत खसेपनि २१९ मत मात्र सदर भएको र बाँकी ४ मत बदर भएको समाचारमा उल्लेख छ । राष्ट्रपति पदको उक्त निर्वाचनमा २ जना सांसद भने अनुपस्थित रहेको जनाइएको छ । नवनिर्वाचित राष्ट्रपति विक्रमासिङ्घे सन् २०२४ सम्म राष्ट्रपति रहने बताइएको छ । बिगतमा श्रीलंकाको राजनीतिमा राजापाक्षे परिवारका राजनीतिक प्रतिस्पर्धी रहेका नवनिर्वाचित राष्ट्रपति बिंक्रमासिङ्घे राजापाक्षे परिवारको नातेदार भएकाले देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफूले देश छाड्दा प्रधानमन्त्री बिक्रासिङ्घेलाई कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए ।

बिगतमा भएका श्रीलंकाको राष्ट्रपति पदको निर्वाचनमा बिक्रमासिङ्घे पदमा पराजित हुनुभएको थियो तर उहाँ बिगतमा लामो समय श्रीलंकाको प्रधानमन्त्री बन्नु भएको थियो । पछिल्लो समय श्रीलंकाको राजनीतिमा कमजोर देखिनु भएका बिक्रासिङ्घे श्रीलंका आर्थिक संकटमा फसेपछि आर्थिक संकट समाधान गर्न नसकेर तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि प्रधानमन्त्री बन्नुभएको थियो ।

श्रीलंकाको आर्थिक संकट थप गहिरिएपछि जनविद्रोह हुँदा गत हप्ता श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिंगापुर पुगेर राष्ट्रपति पदबाट फ्याक्स मार्फत राजीनामा दिएपछि बिक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपति बन्नुभएको थियो ।

पर्यटन श्रीलंकाको अर्थतन्त्रको महत्वपूर्ण आधार भएपनि कोभिड-१९ तथा रुस-युक्रेन युद्ध लगायतका कारण पर्यटकको आवागमन नहुँदा विदेशी मुद्रा अभावले आर्थिक समस्यामा परेको मौकालाई सदुपयोग गरी तमिल विद्रोहीहरुले नयाँ स्वरुपमा खडा भएर पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेले गरेको दमनको बदला लिएर राजापाक्षे परिवारको श्रीलंकाको राजनीतिक युग समाप्त पारेको कतिपय जानकारहरुले बताएका छन् । तत्कालीन राष्ट्रपति चन्द्रिका कुमारातुङ्गा पछि लामो समयसम्म राजापाक्षे परिवारको श्रीलंकाको राजनीतिमा दबदबा कायम थियो । पछिल्लो समय राजापाक्षे परिवारका तीन भाइ दाजुभाइमध्ये गोटाबाया राजापाक्षे राष्ट्रपति , लामो समय राष्ट्रपति रहेका महिन्दा राजापाक्षे प्रधानमन्त्री र बसिल राजपाक्षे अर्थ मन्त्री थिए । देश छाडेर विदेश जान खोजेका पूर्व अर्थ मन्त्री बसिल राजापाक्षे बिमानस्थलबाटै फर्काइएका थिए भने पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई श्रीलंकाको एक आदालतले गत हप्ता देश छाड्न प्रतिबन्ध लगाएको बताइएको थियो । अहिले उहाँको अवस्था अज्ञात रहेको जनाइएको छ ।

Leave a Reply