बैंक तथा वित्तीय संस्था आइतबार बिदा हुने

काठमाडौं/ आउदो जेठ १ गतेदेखि शनिबार र आइतबार हप्ताको २ दिन बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय विहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम गरेको जनाइएको छ ‌ । कार्तिक १६ गतेदेखि माघ १६ गतेसम्म भने बैंकको कार्यालय समय विहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम हुने सो सूचनामा उल्लेख छ । यसैगरी बैंकका कर्मचारीले शुक्रबार पनि कार्यालय पोशाक लगाउनु पर्ने उक्त सूचनामा उल्लेख छ ‌।

सरोकारवालाहरुले भने शनिबार र आइतबार हप्ताको २ दिन सार्वजनिक बिदा दिने कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हप्ताको २ दिन सार्वजनिक बिदा गर्ने कार्य व्यवहारिक पनि नहुने र यो बिदाका कारण सेवाग्राही समस्या पर्ने उनीहरुको भनाई छ । सरकारले भने खर्च कटौती गर्न र पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आउने जेठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन सार्लजनिक बिदा गर्ने निर्णय गरेको जनाएको छ तर कतिपय सरोकारवालाले भने हप्तामा २ दिन सार्वजनिक बिदा गरेर खर्च कटौती हुन्छ भन्नु र ब्रत बसेर खाद्यन्न जोगिन्छ भन्नु उस्तै हो भनेर सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेको देखिएको छ ।

आइतबारको बिदाप्रति स्कूल/ कलेजको असन्तुष्टि

आउदो जेठ १ गतेदेखि शनिबार र आईतबार हप्ताको २ दिन सार्वजनिक बिदा गर्ने निर्णयप्रति स्कूल र कलेज सञ्चालकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले हप्ताको २ दिन सार्बजनिक बिदा गर्दा निर्धारित शैक्षिक-सत्र भित्र कोर्श पूरा हुन समस्या हुने उनीहरुको भनाई छ ।

Leave a Reply