व्यवसायिक सम्बन्ध बढाउन रसिया उद्योग वाणिज्य महासंघ सहित तीन संस्थासँग सीएनआई (CNI)को समझदारी


नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ । २०८१ बैशाख १२ गते बुधबार नेपाल उद्योग परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा सो परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले लगानीका लागि नेपाल उर्बर भूमि रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताउनुभयो ।
व्यवसायिक भ्रमणको नेतृत्व गरिरहेका रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजी क्षेत्र सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उहाँले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्वपूर्ण काम गर्ने बताउनुभयो । दुई देशका व्यवसायीहरुलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको उहाँको भनाइ थियो ।
यसैबीच नेपाल उद्योग परिसंघ र रसियाका तीन व्यवसायिक संस्थाबीच दुई पक्षीय हितका विषयमा काम गर्न समझदारी-पत्रमा हस्ताक्षर भएको छ । रसिया उद्योग वाणिज्य महासंघ, सेण्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेष्टिक उद्योग वाणिज्य संघसँग नेपाल उद्योग परिसंघको समझदारी भएको हो । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवाल, रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेण्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेष्टिक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले हस्ताक्षर गर्नुभयो ।
उक्त समझदारी पत्रमा हस्ताक्षर तथा व्यवसायिक छलफल कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर र भीम घिमिरे, राष्ट्रिय परिषद् सदस्यहरु छायाँ शर्मा, अमित बेगानी र मनिष खेम्का, महानिर्देशक दीपकराज जोशी लगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply