अर्जेन्टिना कतार फिफा विश्वकप फुटबलको फाइनल प्रवेश

अर्जेन्टिना कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । केहीबेर अगाडि लुसेल रंगशालामा सम्पन्न यो विश्वकपको पहिलो सेमीफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरी विजयी भयो । खेलको ३३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी जुलियन अल्भारेजलाई पेनाल्टी एरियामा क्रोएसियाका गोल रक्षकले लडाएपछि खेलको ३४औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गरे । त्यसैगरी खेलको ३९औं र ६९औं मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले २ गोल गरी अर्जेन्टिनाको जीत सुनिश्चित गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् । निकै रोमाञ्चक खेलमा क्रोएसियाका खेलाडीले गोल पोष्टमा गरेका केही प्रहार अर्जेन्टिनी गोल रक्षकले बचाएका थिए भने अर्जेन्टिनाका कप्तान मेस्सी सहितका केही खेलाडीले गोल पोष्टमा गरेका प्रहार क्रोएसियाका गोल रक्षकले बचाएका थिए । यो खेलमा १ गोल गरेका मेस्सीले खेलको ६९ मिनेटमा अल्भारेजले गरेको गोलमा पास मिलाएका थिए भने खेलको ३९औं मिनेटमा पनि मेस्सीले नै अल्भारेजलाई मैदानको मध्यभागबाट उपलब्ध गराए, जुन बललाई अल्भारेजले क्रोएसियाका ३ डिफेण्डरलाई छक्याएर गोलमा परिणत गर्न सफल भए ।

यो विश्वकप फुटबलमा ५ गोल गरेका मेस्सीको फिफा विश्वकप फुटबलमा गोल संख्या ११ पुगेको छ । यो विश्वकपको लिग चरणको पहिलो खेल साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भएर संसारभरका दर्शकहरुलाई स्तब्ध बनाएको अर्जेन्टिना त्यसपछिका सबै खेल जितेर फाइनल चरण प्रवेश गरेको छ । अर्जेन्टिना फाइनल चरणमा पुग्नुमा खेलाडीहरुको खेलसँगै अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलोनीको खेल रणनीति पनि रहेको कतिपय जानकारहरुको भनाई छ ।

आउदो आइतबार कतारको लुसेल रंगशालामा यो विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिनाले भोलि हुने सेमीफाइनल चरणको फ्रान्स र मोरोक्को बीचको खेलको विजेतासँग खेल्ने छ ।

Leave a Reply