जर्मनीमा जारी १७औँ संस्करणको युरोकप-२०२४ को सेमी-फाइनल चरणमा स्पेन र फ्रान्स प्रवेश गरेका छन् । गएराती सम्पन्न पहिलो क्वाटर-फाइनल खेलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरि स्पेन सेमी-फाइनल प्रवेश ग-यो भने गएराती नै सम्पन्न दोश्रो क्वाटर-फाइनल खेलमा पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले फ्रान्स पोर्तुगललाई पराजित गरी सेमी-फाइनल प्रवेश ग-यो । निर्धारित ९० मिनेटमा फ्रान्स र पोर्तुगलले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा पनि यी दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा फ्रान्सको ५ वटै प्रहार गोलमा परिणत भयो भने पोर्तुगलका कप्तान क्रिष्टियानो रोनाल्डो सहित ३ खेलाडीको पेनाल्टी सुटआउट गोलमा परिणत भएपनि जोआओ फेलिक्सको प्रहार पोष्ट लागेर फर्किएर गोलमा परिणत हुन नसक्ता पोर्तुगल क्वाटर-फाइनल चरणबाटै बाहिरियो । यससँगै सन् २००४ देखि युरो कप खेल्दै आएका पोर्तुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको आफ्नो नेतृत्वमा पोर्तुगललाई द दोश्रो पटक युरो कप जिताउने सपना अधुरै रह्यो । युरो कपको इतिहासमा सबैभन्दा बढी उमेरमा खेल्ने खेलाडीको कीर्तिमान बनाएका रोनाल्डोले युुरोकप आफ्नो लागि अन्तिम भएको यस अघि नै बताएका छन् ।
यता आयोजक जर्मनी र स्पेनबीचको क्वाटर-फाइनल खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएपनि दोश्रो हापको ५१औँ मिनेटमा लामिन यामलको पासमा डानी ओल्मोले आकर्षक गोल गरि स्पेनलाई अग्रता दिलाए । १ गोलले पछि परेको अवस्थालाई उल्टाउदै खेलको ८९औँ मिनेटमा जर्मनीका जेसिअ किम्मिचको पासमा फ्लोरिन विट्जले गोल गरि खेल बराबरीमा पु-याए । निर्धारित ९० मिनेटको समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलियो । अतिरिक्त समयको इञ्जुरी समयको अन्तिम मिनेटमा मिकेल मोरिनोले पोष्ट नजिकैबाट हेडले गरेको बल प्रहार गोलमा परिणत भएसँगै स्पेन आयोजक जर्मनीलाई पाखा लाउदै सेमी-फाइनल प्रवेश ग-यो । योसँगै आफ्नै घरेलु मैदानमा यरोकप जित्ने जर्मनीको सपना अधुरै रह्यो ।
स्पेन र फ्रान्स आउदो मंगलबार सेमी-फाइनलमा भिड्ने छन् ।
भरेराती इङ्ल्याण्ड र स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड र टर्की भिड्ने
भरेराती युरोकप-२०२४ को क्वाटर-फाइनल अन्तर्गत इङ्ल्याण्ड र स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड र टर्की बीच खेल हुनेछ । यी दुई क्वाटर-फाइनल खेलका विजेता यी दुई टोली बीच सेमी-फाइनल खेल हुने बताइएको छ ।





