महाकवि देवकोटा र इतिहास शिरोमणि आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटा र इतिहास शिरोमणि बाबुराम आचार्यलाई राष्ट्रिय विभूति बनाउन माग गरिएको छ । महाकवि देवकोटाको ११४औं जन्मजयन्ती , रत्न पुस्तकालयको हिरक महोत्सव तथा रत्न रक्तकोषको ४१औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको मध्यबानेश्वर स्थित रत्नराज्य मा.वि. परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका साहित्यकार तथा पूर्व प्रशासक एवं पूर्व मन्त्री शंकरप्रसाद कोइरालाले महाकवि देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘महाकवि देवकोटा र इतिहास शिरोमणि बाबुराम आचार्य आफूले गरेका कार्यका कारण २०औं शताब्दीका हाम्रो देशका महत्वपूर्ण धरोहरको रुपमा रहन सफल भएकोले महाकवि देवकोटा र इतिहास शिरोमणि आचार्यलाई राज्यबाट राष्ट्रिय विभूति घोषणा गराउन रत्न पुस्तकालयले पहल गरोस्’, भन्नुभयो । कार्यक्रम महाकवि देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो ‘अग्नि’ महाकव्यमा यो वर्ष मदन पुरस्कार पाउन सफल साहित्यकार डा.नवराज लम्सालले साहित्यका सबैजसो विधामा कलम चलाएका महाकवि देवकोटाले गद्य, पद्य र झ्याउरे छन्दमा साहित्य सृजना गरेको र उनले आफ्ना साहित्यिक रचनामा पूर्वीय र पाश्चात्य जीवन दर्शन पस्किएको भन्दै देवकोटालाई हामी राम्रोसँग बुझ्नु पर्ने खाँचो औंल्याउनुभयो । कार्यक्रममा महाकवि देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कवि तथा लघु कथाकार राधा दुलाल कार्कीले नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटाको बारेमा गरेका कार्यको बारेमा चर्चा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय स्थापनामा महाकवि देवकोटाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । त्यसैगरी काठमाडौं महानगरपालिका वडा नं.१० का वडाध्यक्ष रामकुमार के.सी.ले महाकवि देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भाषा , साहितृय , कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको रत्न पुस्ताकालयको हिरक महोत्सव तथा रत्न कोषको ४१औं वार्षिकोत्सवको सफलताको कामना गरी रत्न पुस्तकालय र रत्न रक्त कोषलाई आफूले सकेको सहयोग गर्ने प्रतिबद्धा व्यक्त गर्नुभयो । कार्यक्रमको अध्यक्षता गरेका रत्न पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाले रत्न पुस्ताकालय र रत्न रक्तकोषको अवस्था र यिनले गरेका कार्य बारेमा चर्चा गर्दै रत्न पुस्तकालयलाई सहयोग गर्ने सहयोगीहरुको बारेमा प्रकाश पार्नुभयो । उहाँ पूजा पत्रिकाको प्रकाशनको लागि स्थापना भएको अक्षय कोष बारे पनि चर्चा गर्नुभएको थियो । कार्यक्रममा रत्न पुस्ताकालयले प्रकाशन गरेको पूजा पत्रिका विमोचन गर्नुका साथै रत्न पुस्कालयका लागि योगदान गर्ने विभिन्न व्यक्तित्व तथा रत्नराज्य विद्यालयकी शिक्षक तथा विद्यार्थी एवं विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने विभिन्न व्यक्तित्वहरुलाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरिएको थियो । रत्न पुस्तकालयका सचिव प्रकाश आचार्यले सञ्चालन र कार्य समिति सदस्य योशदा बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमका अवसरमा रत्नराज्य विद्यालय परिसर छेउमा निर्माण भएका महाकवि लक्ष्मीप्रसाद देवकोटा र इतिहास शिरोमणि बाबुराम आचार्यको अर्ध कदको शालिक अनावरण गरिएको थियो ।

कार्यक्रमका अवसरमा सोमबार नै रत्नराज्य विद्यालय परिसरमा रत्न रक्त कोषको आयोजनामा रक्तदान कार्यक्रम पनि गरिएको थियो , जसमा १२ जना रक्तदाताले रक्तदान गरेको आयोजकले बताएका थिए ।

वि.सं. १९६६ सालको लक्ष्मी पुजाको दिन जन्मिएर ४९ वर्षकै उमेरमा निधन भएका महाकवि लक्ष्मीप्रसाथ देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम भएका थिए ।

Leave a Reply