सार्वजनिक विद्यालय र कलेजले दिए जाडो बिदा तर निजी स्कुल र कलेजले दिएनन्

जाडो बढ्दै गएपछि परीक्षा सञ्चालन भइरहेका बाहेकका काठमाडौं उपत्यका सहित देशका बिभिन्न ठाउँका सार्वजनिक विद्यालय र क्याम्पसहरुले विद्यार्थीहरुलाई हिजोदेखि २० दिन भन्दा बढीको जाडो बिदा दिएका छन् तर एकाध बाहेक सबैजसो निजी (संस्थागत) विद्यालय र कलेजले भने विद्यार्थीहरुलाई जाडो बिदा दिएका छैनन् । विद्यार्थीलाई जाडो बिदा दिदा कोर्ष पढाएर सक्न मुस्किल पर्ने भएकोले जाडो बिदा नदिएको ती स्कुल तथा कलेजका सञ्चालकहरु बताउछन् । पठनपाठनमा समस्या नहोस् भनेर कतिपय पर्व बिदा समेत कटौती गरिएको उनीहरुको भनाई छ । सोही कारण सार्वजनिकको तुलनामा निजी स्कुल र कलेजका शिक्षक र कर्मचारीहरुको सेवा सुबिधा कम छ तर अधिकांश निजी विद्यालय र कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको नतिजा सार्वजनिकको भन्दा केही न केही राम्रै हुने गरेको कतिपय जानकारहरु बताउछन् ।

व्यस्थापन राम्रो रहेका शहरी क्षेत्रका केही सार्वजनिक विद्यालय र क्याम्पसहरुमा पठनपाठन राम्रो छ तर केही औंलामा गन्न सकिने बाहेकका ग्रामिण तथा दूरदराज र देहात लगायतमा रहेका अधिकांश सार्वजनिक विद्यालय र कलेजमा राम्रोसँग पठनपाठन नहुने गरेको र यसको कारण भनेको त्यहाँ भने जस्तो विषयगत शिक्षक नहुनु र भएका मध्ये पनि अधिकांश शिक्षक कक्षामा गएर पढाउने भन्दा पनि कुनै न कुनै शिक्षक संघ/संगठनको आवरणमा राजनीतिक दलको कार्यकर्ता बनेर गफ चुटेर बस्नु नै हो भन्छन् ।

यता शिक्षकहरुको नामका क्रियाशील संघ/संगठनहरु पनि यतिबेला शैक्षिक गुणस्तर बृद्धिमा भन्दा आफ्ना समूह र व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने गरेको धेरैले गुनासो गर्ने गरेको पाइन्छ । आजकाल एकाध बाहेकका प्राय: सबैजसो शिक्षक संघ/संगठनहरुले पीडित शिक्षकहरुको हितमा काम गरेको देखिदैन । शिक्षक संघ/संगठन व्यक्तिको स्वार्थ सिद्ध गर्ने र सार्वजनिक पदमा पुग्ने लिस्नो मात्रै बन्ने गरेको शिक्षा क्षेत्रका धेरै जानकारहरु बताउछन् ‌‌।

Leave a Reply