अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग नेपाल उद्योग परिसंघको छलफल,पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह

नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग आज छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ ।

नेपाल उद्योग परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन नेपाल वावुसेवा निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताउनुभयो । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नपर्नेमा जोड दिदै उहाँले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने खाँचो औंल्याउनुभयो । निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उहाँको भनाइ थियो ।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसकेको भन्नुहुँदै यसको सफल सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यूरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न के कस्ता उपाय अबलम्बन गर्नुपर्छ, सुझाव दिन आग्रह गर्नुभयो ।

यसैगरि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राज किशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताउनुभयो । पर्यटन क्षेत्रको समग्र विकासका लागि यो समितिले उच्च महत्व दिइरहेको बताउदै उहाँले नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । सभापति यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिनुभयो । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने विषयहरु जति सक्दो छिटो लिपिबद्ध गरी दिन आग्रह गर्दै निजी क्षेत्रको सुझावहरु पर्यटन, अर्थ मन्त्रीसम्म पु-याउन यस समितिले सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरि पूर्व अर्थ राज्यमन्त्री तथा सांसद उदय शंशेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराउनुभयो । उहाँले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने विषयमा राजनीतिक दलहरुले भन्दा निजी क्षेत्रले आम समुदायलाई आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सबै सहमत रहेको भएपनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आउने गरेको उहाँले बताउनुभयो ।

पुर्व पर्यटन मन्त्री तथा सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग सञ्चालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताउनुभयो । यी दुबै विमानस्थल सञ्चालन हुन सक्ने भन्दै विमानस्थलमा उडान भर्न पहल गर्नपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निकै आवश्यक रहेको समेत बताउनुभयो ।

यस्तै सांसदहरु एकनाथ ढकाल, डा. धवल शमशेर जबरा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

उक्त अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले संसद, सरकार, राजनीतिक दल र निजी क्षेत्र सबै मिलेर मुलुकको आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशीले पर्यटन उद्योगको विगत, बर्तमानको अवस्था र आगामी दिनमा चालिनुपर्ने कदमका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

त्यसै अवसरमा पर्यटन मन्त्रालयका पूर्व सचिव दीपेन्द्रपुरुष ढकाल, नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, नाट्टाका अध्यक्ष रमेश थापा, टानका अध्यक्ष निलहरि बास्तोलालगायत पर्यटन उद्योगसँग सम्बन्धित संघ संस्थाका अध्यक्षहरुले पर्यटन उद्योगको विकास, विस्तारका लागि गरिनुपर्ने काम र समितिले ध्यान दिनुपर्ने विषयमा सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा सांसद सुनिता बराल, पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले, सह-सचिव गोबिन्दबहादुर कार्की, नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल उद्योग परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, पर्यटन बोर्ड सञ्चालक समितिका सदस्यहरु सहित विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply