नेपाल प्रेस काउन्सिलले आफ्नो ५५औँ वार्षिक उत्सवको अवसरमा अग्रज पत्रकारहरु र सञ्चार माध्यम लगायतलाई पुरस्कार र सम्मान गर्ने जनाएको छ । यसै अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट रु.१,५१,००० राशीको यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युटलाई प्रदान गर्ने जनाइएको छ । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो । अग्रज पत्रकार शर्मा यो पुरस्कार पाउने पहिलो महिला पत्रकार हनुहुन्छ । यसैगरी राष्ट्रपति पौडेलकै हातबाट यो वर्षको रु.१,१०,००० राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार अग्रज पत्रकार बद्री सिग्देललाई तथा प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय भएको बताइएको छ । यही असोज ३ र ४ गते बसेको प्रेस काउन्सिल नेपालको बैठकले पुरस्कनर सम्बन्धी निर्णय गरेको प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।






