यही माघ १० गतेदेखि शुरु भएको शहीद दिवस अन्तर्गत शहीद सप्ताहको अन्तिम दिन आज विभिन्न कार्यक्रम गरी शहीदहरुको सम्मान सहित सम्झना गरियो । आज काठमाडौं लैनचौरस्थित शहीदपार्कमा पुगेर प्रधानमन्त्री प्रचण्ड , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले शहीदहरु प्रति माल्यार्पण गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारी , उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , जसपाका अध्यक्ष उपेन्द्र यादव नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल , नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. लगायतले शहीदका सपनालाई मूर्त रुप दिनु पर्ने खाँचो औंल्याउनुभयो ।
विशेषत: वि.सं. १९९७ सालमा राणा शासनको विरोध गरे बापत राणा सरकारले मृत्युदण्ड दिएका शुक्रराज शास्त्री जोशी धर्मभक्त माथेमा , दशरथ चन्द र गंगालाललाई मृत्युदण्ड दिएको सम्झनामा वि.सं.२०१२ सालदेखि शहीद दिवस मनाउने गरिएको छ ।
नेपालमा राणा शासनको विरोध गरेका गोरखाका लखन थापादेखि शुरु भएको थियो शहीद हुने क्रम । हालसम्म शहीद हुने संख्या निकै ठूलो छ । शहीद दिवसका दिन शहीदका सपना पूरा गर्ने बाचा गरिन थालेको धेरै वर्ष भएपनि त्यो बाचा केवल बाचामै सिमित छ ।





