जनकपुरधाममा आजबाट साताव्यापी राम-जानकी विवाह पञ्चमी महोत्सव शुरु

जनकपुरधाममा आजबाट साताव्यापी राम-जानकी विवाह पञ्चमी महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन आज नगर दर्शन कार्यक्रम गरियो ।त्रेता युगमा पुरुषोत्तम श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणसँग आजकै दिन पहिलो पटक तत्कालीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर घुमेको सम्झनामा यो ‘नगर दर्शन’ कार्यक्रम आय‍ोजना गरिएको बताइएको छ । तीन बालकलाई गुरु विश्वामित्र, श्रीराम र लक्ष्मणको पहिरन तथा साजसज्जा गरी जानकी मन्दिर परिसरमा पसलहरुको स्टल राखेर सांकेतिक रुपमा ‘नगर दर्शन’ गराइयो । नगर दर्शन समारोहमा हजारौं श्रद्धालुहरु सहितको सहभागिता रह्यो । नगर दर्शनको अवसरमा भएको ‘गीतनाद’ र भजनकीर्तनमा श्रद्धालु झुमेका थिए । जसले जानकी मन्दिरको माहोल अलौकिक जस्तै बन्यो ।

राम-जानकी विवाह महोत्सव अन्तर्गत दोश्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौं दिन मटकोर गरिने छ भने छैटौं दिन अर्थात् आउदो पुस १ गते भारतको अयोध्याबाट आएका बेहुलो लिएर जनकपुरधाम आएका जन्ती पर्सेर उनीहरुलाई स्वनगत सत्कार गरी जानकी-राम स्वयम्बर तथा शुभविवाह गरिने र सातौं दिन रामकलेवा गरिने आयोजकको भनाइ छ ।

यतिबेला जानकी मन्दिर झकिझकाउ भएको छ । यो महोत्सवमा सरिक हुन नेपालका विभिन्न स्थानका साथै भारतबाट श्रद्धालुहरु जनकपुरधाम आउने क्रम जारी छ ।

मंसिर विवाह पञ्चमीमा भारतको अयोध्याबाट बेहुलो लिएर जन्ती आउने र राम-जानकी विवाह कार्यक्रम सम्पन्न भएपछि उनीहरु अयोध्या फर्किने चलन चल्दै आएको छ ।

Leave a Reply