झौखेलको कासन खुपांगा लुकुण्डोल सडकमा सीमांकनबारे छलफल सम्पन

चाँगुनारायण नगरपालिका वडा नं. २, झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडकमा सीमांकनका विषयमा छलफल गर्न स्थानीय जग्गाधनी र घर धनीहरुको भेला कालीघाट सत्तलस्थित कालीघाट पुस्तकालयमा २०८१ श्रावण २६ शनिबार सम्पन्न भयो । भेलामा समाजसेवी तथा शिक्षाप्रेमी बालमुकन्द बासुकलाले ‘बाटोको सीमांकनले समाजविकास हुनुको साथै गाउँ ठाउँ अझ विकास हुन्छ’, भन्नुभयो । साामूहिक भावनाको विकासले एकताबद्ध हुन टेवा पुग्छ भन्दै उहाँले शिक्षा जीवनको ज्योति हो , कालीघाट सत्तलमा रहेका कालीघाट पुस्तकालयमा विभिन्न प्रकारका किताबहरु रहेका बताउदै अध्ययन गर्न आउन सबैलाई अनुरोध गर्नुभयो । सो अवसरमा कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले चाँगुनारायण नगरपालिका वडा नंं.२, झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडकलाई सीमांकन गरी पर्खाल लगाएर स्तरउन्नति गर्न सीमांकनको विषयमा स्थानीय जग्गाधनी र घरधनीसँग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको बताउनुभयो । यसैगरी स्थानीय राजाराम बासुकलाले ‘कासन खुपांगा लुकुण्डोलमा बाटो साँगुरो र खाल्डाखुल्डी हुनाले बटुवालाई अति समस्या परेकोले समयमै सीमांकन गरी पर्खाल लगाएर सडक फराकिलो बनाउनुपर्छ’, भन्नुभयो भने
स्थानीय पुरुषोत्तम दुवालले ‘बाटो सीमांकन गर्न अति आवश्यक छ’, भन्नुभयो । बाटो फराकिलो भए दुर्घटनाबाट बच्न सकिन्छ भन्दै उहाँले बजेट ल्याई सीमाकन गरी पर्खाल लगाउने भए आफ्नो जग्गाबाट शुरु गर्न अनुरोध गर्नुभयो । यस्तै
जग्गाधनी बद्रीकेदार दुवालले सडक सीमांकन अपरिहार्य छ भन्दै सीमांकन गरी पर्खाल बनाउन आफनो जग्गादेखि शुरु गर्न अनुरोध गर्नुभयो । यस्तैगरी
घरधनी योगेन्द्र कायष्ठले सडक सीमांकन गरी फराकिलो पार्दा बनेका घरलाई समस्यामा पार्नु हुदैन भन्नुभयो । भेलामा स्थानीय सुरेन्द्र सुवालले सडक सीमांकन गर्न र पर्खाल लगाउन विभिन्न निकायमा बजेटको लागि पहल गर्न आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो । भेलामा स्थानीय जग्गाधनी तथा घरधनीहरु केशव दुवाल , राजाराम बासुकला, राजन लासिवा, गोपालकृष्ण ग्वाछा, सिमल बासुकला , तुल्सीराम बासुकला, गंगाराम सुवाल, राजाराम दुवाल, पुण्यराम धन्गो ,दीपक निरौला , श्रीमान भारती लगायतले झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडक सीमांकन गरी पर्खाल लगाएर फराकिलो पार्न ढिलो भइसकेको बताउनुभयो । सो भेला तथा छलफल कार्यक्रमले चाँगुनारायण नगरपालिका वडा नं.२, झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडकलाई सीमांकनका लागि बजेट बन्दोवस्त गर्नका लागि सम्बन्धित निकायमा पहल गर्न स्थानीय राजकुमार लघुको संयोजकत्वमा ९ सदस्यीय समिति गठन ग-यो । उक्त समितिको सह-संयोजकमा पुरुषोत्तम दुवाल, सचिवमा राजाराम बासुकला, सह-सचिव गंगाराम सुवाल, कोषाध्यक्ष बद्रीकेदार दुवाल र सदस्यमा राजाराम बासुकला , गोपालकृष्ण ग्वाछा, किशोर बासुकला र शुभद्रा शाक्य रहनुभएको छ । सो भेलाले चाँगुनारायण नगरपालिका वडा नं.२, झौखेलको कासन खुपांगा लुकुण्डोल सडकलाई ५ मीटर सीमांकन गर्न स्थानीय जग्गाधनी र घरधनीले सहमती जनाई बजेट बन्दोवस्तका लागि सम्बन्धित निकाय चाँगनारायण नगरपालिका र वडा नं. २ मा पहल गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *