यही बैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनको तनहुँ क्षेत्र नं.१ को मतगणनाको नतिजा सार्वजनिक भएको छ भने चितवन क्षेत्र नं.२ र बारा क्षेत्र नं.२ मा मतगणना जारी छ ।
घोषित मत परिणाम अनुसार तनहुँ क्षेत्र नं.१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई फराकिलो मतान्तरले पछि पारी विजयी हुनुभएको छ । यो उपनिर्वाचनमा गत मंसिर ४ गतेको तुलनामा कम प्रतिशत मत खसेको तनहुँ क्षेत्र नं.१ मा नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका डा.स्वर्णिम वाग्लेले ३४.९१९ मत पाउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २०,१२२ , नेकपा (एमाले)का सर्वेन्द्र खनालले ८,४८८ , राप्रपाकी शोभा गुरुङले २१८ , मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले १६६ , नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९ , राष्ट्रिय जनमुक्ति पार्टीमा पूर्णबहादुर रानाले ८७, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतीले ३१ र नेकपा (एकीकृत समाजवादी)का गणेश श्रेष्ठले ५ मत पाएको निर्वाचन आयोग , नेपालले जनाएको छ । विजयी वााग्लेलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले बधाई ज्ञापन गर्नुभयो । यो उपनिर्वाचनमा नेपाली कांग्रेसमा गोविन्द भट्टराईले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वार तथा नेपाली कांग्रेसका तत्कालीन बरिष्ठ नेता रामचन्द्र पौडेलले जति मत पाउन नसकेपनि सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली तर्फ पाए जति मत भने पाउनुभयो तर नेकपा (एमाले)का सर्वेन्द्र खनालले भने यो उपनिर्वाचनमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उक्त पार्टीका एकबहादुर रानाले पाएको मतको आधा मत पनि पाउनु भएन ।
यसैगरी चितवन क्षेत्र नं.२ मा रास्वपाका सभापति रवि लामिछानेले निकतम प्रतिद्वन्दी नेपाली का्ग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेलाई ३१,००० जति मतान्तरले पछि पारी अग्रता लिइरहनुभएको छ भने बारा क्षेत्र नं.२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहा , नेकपा (एमाले)का पुरुषोत्तम पौडेल , रास्वपाका रमेशप्रसाद खरेल लगायतलाई फराकिलो मतान्तरले पछि पारी अग्रता लिइरहनुभएको छ ।





