नेपाल उद्योग परिसंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) उर्जा क्षैत्रको विकास र समस्या समाधानका लागि मिलेर अगाडि बढने भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा स्वागतका लागि २०८० श्रावण २३ गते मंगलबार आफ्नै सचिवालयमा नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनीहरुले सो ऐक्यबद्धता जनाएको बताइएको छ ।

उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की सहित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दीगो माध्यम रहेको बताउनुभयो । उहाँले उर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाल उद्योग परिसंघले उर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा उर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिनुभयो । पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसै अवसरमा इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रको विकासका लागि उर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताउनुहुँदै उर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरुपता हुनुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत व्यापार गर्न दिनुपर्ने, विद्युत निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरुले आवश्यक विजुली पाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ महानिर्देशक दीपकराज जोशी लगायतको उपस्थिति रहेको थियो ।





