नेपाल उद्योग परिसंघ र चिनीया राजदूतबीच छलफल, लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारमा जोड

नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनीया राजदूत छन सोङ बीच आज छलफल भएको छ । नेपाल उद्य‍ोग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको सोही परिसंघका पदाधिकारीहरुले आज चिनीया राजदूत सोङसँग भेट गरी लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गर्नुभएको नेपाल उद्य‍‍ोग परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
छलफलका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले चीन विकासको महत्वपूर्ण साझेदार रहेको भन्नुहुँदै नेपालको पछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटन लगायतका क्षेत्रमा चिनीया लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनीया बजारमा पु-याउन सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष अग्रवालले नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इण्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागेको समेत राजदूत सोङलाई जानकारी गराउनुभयो ।
सो अवसरमा चिनीया राजदूत सोङले चीन र भारतको बीचमा भएर सानो देखिएता पनि नेपाल सानो मुलुक नभएको बताउनुभयो । नेपालसँग भएको आफ्नो उर्जा र स्रोतमार्फत विकास गर्न सक्ने भन्नुहुँदै उहाँले दीर्घकालिन विकास रणनीति आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले उर्जा क्षेत्रलाई प्राथमिकता दिदै नेपालले विद्युतीय प्रयोग बढाउन पर्ने सुझाव दिनुभयो । त्यसले आयात प्रतिस्थापनमा सहयोग गर्ने उहाँको भनाई थियो । परिसंघले औद्योगिक विकासका लागि काम गर्दै आएको भन्नुहुँदै उहाँले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो ।

सोही छलफलमा नेपाल उद्य‍ोग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता र अमित मोर, पदाधिकारी सदस्यहरु छाया शर्मा र गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply