नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री पुनबीच अर्थतन्त्र सुधारको विषयमा छलफल

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच आज मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव प्रस्तुत गरेको जनाएको छ ।

उक्त अवसरमा अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउनुहुँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भारतले अवलम्बन गरेको जीएसटी (GST) र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिबृद्धि कर (VAT) का कारण अनधिकृत व्यापार बढाउन सहयोग गरेको भन्नुहुँदै बहुदर भ्याट प्रणालीमा जान आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भईरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यवसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरुलाई ‘डिक्रिमिनलाइज्ड्’ गरिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
सोही अवसरमा अर्थ मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताउनुभयो । प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिनुभएको भन्नुहुँदै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागू गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन” मन्त्री पुनले भन्नुभयो ।
अर्थतन्त्र केही दबाबमा रहेको भन्नुहुँदै उहाँले निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिई बजारलाई चलायमान बनाउन ३०/४० अर्ब रुपैया बजारमा पठाउन लागेको समेत उहाँले बताउनुभयो । बहुदर भ्याट प्रणालीमा जानुपर्ने नेपाल उद्योग परिसंघको सुझावलाई सकारात्मक रुपमा लिनुहुँदै उहाँले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रुपमा छलफल गर्ने बताउनुभयो ।
उक्त अवसरमा नेपाल उद्योग परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य गोकुल भण्डारी, गर्भनिङ्ग काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठ, शिवरतन शारडा, महानिर्देशक दीपक राज जोशी लगायतको सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply