नेपाल-चीन व्यवसाय परिषद स्थापना गर्न सीएनआई र सीसीपीआईटी बीच समझदारी


नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इण्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको अवसरमा सीएनआई र सीसीपीआईटी बीच यस्तो समझदारी भएको नेपाल उद्य‍ोग परिसंघले आइतबार जारी गरेको प्रेस पिज्ञप्तिमा उल्लेख छ ।

समझदारी- पत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गर्नुभयो ।
यस समझदारीसँगै नेपाल- चीन बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुबैका व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ ।
काउन्सिलले दुई देशबीच व्यवसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन-सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिबृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यवसायिक भ्रमण आदान प्रदान गर्न, सम्मेलन तथा संवाद लगायतका गतिविधि गर्नेछ । यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठन सहित सहकार्यको रोडम्याप तयार पारेका छन् । नेपाल- चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन् ।
परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल- चीनबीच व्यवसायिक सम्बन्ध अभिबृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल-चीन व्यवसायिक परिषद महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो । उहाँले परिषद्ले देखिने गरी प्रभावकारी रुपमा काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उक्त समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल उद्य‍ोग परिसंघका तर्फबाट नि:वर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, भीम घिमिरे समेत सहभागी हुुनुभएको थियो ।

Leave a Reply