नेपाल हस्तकला महासंघद्वारा बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न



नेपाल हस्तकला महासंघले बागमती प्रदेश सरकारका नवनियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठको सम्मानमा आज आफ्नै कार्यालयमा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले उक्त कार्यक्रमको अध्यक्षता गर्दै हस्तकला क्षेत्रको दिगो विकास र प्रवर्द्धनको लागि बागमती प्रदेश सभामा दफावार छलफलको प्रक्रियामा रहेको बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरुमा ती पालिकाहरुको प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश जति सक्दो चाँडो पारित गरि दिन अनुरोध गर्नुभयो । प्रदेशस्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र सञ्चालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता सञ्चालन, हस्तकला विश्वविद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि शाक्यले बागमती प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो ।
सो अवसरमा बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बज्राचार्य, वन तथा वातावरण मन्त्री पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्रेष्ठले हस्तकला क्षेत्रको प्रवर्द्धनको लागि आफ्नो मन्त्रालयले आ-आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरुलाई प्राथमिकतापूर्वक कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा सञ्चालन विधयक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्थाकै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु काठ, ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने आदि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल हस्तकला महासंघका संस्थापक अध्यक्ष सागर शमशेर राणाले शुभकामना मन्तव्य र त्यसै महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रम नेपाल हस्तकला महासंघ र हस्तकला उद्योग व्यवसायको बारेमा प्रस्तुतिकरण सहित सञ्चालन महानिर्देशक उत्तमप्रसाद देवकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा महासंघका सल्लाहकार पूर्व अध्यक्षहरु, कार्य समितिका पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरु, सञ्चारकर्मीहरु र कर्मचारीहरु सहभागिता रहेको थियो ।

Leave a Reply