बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनले राष्ट्रपति पौडेल दु:खी

८१ वर्षको उमेरमा आज दिउँसो निधन भएका भजन शिरोमणिको उपाधि पाएका बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेलले दु:ख व्यक्त गर्नुभएको छ । नेपाली सुगम संगीतमा विशिष्ट योगदान पु-याएका आचार्यको निधनले नेपाली संगीत क्षेत्र मात्रै नभई राजनीतिक लगायतको क्षेत्र पनि शोकमग्न देेखिएको छ । संगीतकर्मीहरुसँगै नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीदेखि धेरै राजनीतिकर्मीहरु लगायतले उहाँको निधनमा शोक प्रकट गरेका छन् । नेपाली गीत संगीत क्षेत्रमा आवद्ध भएर क्रियाशील गायक, संगीतकार र गीतकारहरुले उहाँको निधनले नेपाली गीत संगीत क्षेत्रको छहारी प्रदान गरिरहेको एउटा ठूलो रुख ढलेको महशुस गरेको देखिएको छ ।

वि.सं.१९९९ साल असोज १६ गते धनकुटाको कुडुले तेलुपामा जन्मेका दिवंगत आचार्यले गाएका ४५१ वटा जति गीत रहेको बताइएको छ । बिगत लामो समयदेखि विरामी परेका आचार्यलाई स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारको लागि ललितपुरको मेडसिटी हस्पिटल लाँदै गर्दा बाटैमा आज अपरान्ह उहाँको निधन भएको बताइएको छ ।

भोलि बिहान ९ बजे श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर संंगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने जनाइएको छ । भोलि नै उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तेष्टि गरिने परिवारिक श्रोतको भनाइ छ ।

Leave a Reply