बैशाख १४ गते विद्यार्थीको उद्यमशीलता र विद्यालयको आयश्रोतको लागि भक्तपुरका ३३ पोखरीको अध्ययन हुने

संबिधान त निशुल्क हुने भनिएको शिक्षा ब्यबस्थापनको लागि आबश्यक श्रोत नहुदा अहिले पनि धेरै विद्यार्थीहरुबाट रकम उठाउने गरिएको छ । यो रकम विद्यालय स्वयमले कुनै व्यवसाय गरी जम्मा गर्न सक्ने देखेकोले यो कसरी र किन भन्ने बारेमा जवाफ पाउनको लागि भक्तपुरका ३३ पोखरी पदयात्रामा विद्यालयहरुले गर्न सक्ने व्यवसायिक योजनाको लागि बैशाख १४ गतेबाट अध्ययन शुरु गर्न भक्तपुर टुर्सले अपिल गरेको छ । उसले अपील गरि जारी गरेको प्रेस नोटमा निम्न विषय उल्लेख छ ।

विद्यार्थीको उद्यमशीलता विकासको लागि ३३ पोखरी अध्ययन

एउटै फेवा तालबाट पोखराको पर्यटन निर्दिष्ट छ । पोखरामा रहेका केही पर्यटन गन्तब्यहरुको ब्यबस्थापन विद्यालयहरुले गरिरहदा आयको श्रोत बनेको छ । भक्तपु्रको ३३ पोखरी पदमार्गलाई समेत आम्दानीको श्रोत बनाउन सकिने निष्कर्ष भक्तपुर टुर्सको छ । यसको कार्यन्वयनको लागि आवश्यक दक्ष जनशक्तिलाई विद्यालय तहबाट जागरुक गर्ने उद्देश्यले कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरु र स्थानीय बिषय अध्यापन गराउने शिक्षकहरुलाई आफू बिद्यालय रहेको वडा नजिकै पर्ने पोखरीहरुको अध्ययन अवलोकन गरी कुनै एक पोखरीमा कसरी, कहिले, के कस्ता व्यवसाय गर्न सकिन्छ, त्यसको लागि व्यवसायिक सोच तयार गर्न आह्वान गरिएको छ ।
यसको लागि बैशाख १४ गते विद्यालयहरुले तल तालिकामा दिए बमोजिम पोखरी भ्रमण गरी आवश्यक सूचना संकलन गर्नेछन् । एउटै पोखरीको अध्ययन गर्ने एक भन्दा बढी विद्यालयहरु भएमा संयुक्त रुपमा अध्ययन गरी व्यवसायिक सोचको प्रतिबेदन पेश गर्नु पर्नेछ ।
हाल ३३ पोखरी पदमार्गमा पर्ने पोखरीहरुमा माछापालन र नौका बिहारका व्यवसायहरु चलिरहेका छन् । यी व्यवसायहरु, कुनै पनि विद्यालयले व्यवस्थापन गरिरहेको छैन । विद्यालयहरुलाई पोखरीको ब्यबस्थापन स्थानीय समुदायसँगको सहकार्यमा कसरी गर्ने हो, त्यसको खाका कोर्न भनिएको छ । पोखरीको माध्यमबाट गर्न सकिने आर्य आर्जनका क्रियाकलापमा साझेदारी गर्नको लागि समझदारी-पत्र समेत बनाइनेछ । यही समझदारीको माध्यमबाट दुबै पक्षको लागि फाइदा हुने भएपछि ३३ पोखरी पदमार्गमा विद्यालय र समुदायको साझेदारीमा व्यवसायहरु शुरु हुनेछ ।
३३ पोखरी परिक्रमाको लागि अतिथिहरु ल्याउने काम भक्तपुर टुर्सले निरन्तर गरिरहेको छ । यी अतिथिहरुलाई लक्षित गरी पोखरीहरुमा नयाँ नयाँ पेशा, व्यवसाय र सेवाको ब्यबस्थापनको लागि विद्यालयहरुसँग सहकार्य गर्न लागिएको हो । यसबाट विद्यार्थीहरुबाट हाल उठाउने गरिएको शुल्क कम गर्ने उदेश्य राखिएको छ । विद्यालयहरु स्वयमले व्यवसायिक सोच ल्याउन नसकेसम्म पोखरीहरुको नियमित अध्ययन अनुसन्धान गर्न पर्नेछ । त्यसको लागि शिक्षकहरु र विद्यार्थीहरुले पोखरीको बारेमा नियमित रुपमा प्रश्नहरु तयार गर्न पर्नेछ ।
बैशाक १४ गतेको पोखरी अध्ययन तालिका
https://drive.google.com/file/d/1YWB66sKmLxEC5f7OT_cXiQcVb_Jqeb7g/view?usp=sharing
भक्तपुरको ३३ पोखरी परिक्रमा कसरी गर्ने ?


भक्तपुरको पहिचानको रुपमा रहेको ङातापोल्ह मन्दिरमा ३३ वटा खुडकिला छन् । ती खुडकिलाको प्रतिक मानेर ३३ पोखरीको परिक्रमा गर्ने चलन केही बर्ष अघि शुरु गरिएको हो । ङातापोल्ह देगल देखिने पाँचाख्यबाट शुरु हुने यात्रा शहरको सबै पोखरी घुमेर अन्तिममा च्याम्हासिह पोखरी पुगेर पुन: पाँचाख्य मै पुग्दा पुरै भक्तपुर परिक्रमा हुन्छ ।

प्राचीनकालमा पानीको श्रोतका रुपमा निर्माण गरिएका भाँदगाउँ शहरका पोखरी आधुनिककालमा पर्यटकीय गन्तब्यका रुपमा परिणत भएका छन् । यस शहरको आर्थिक विकासको लागि विदेशीहरुबाट उठाइएको प्रवेश शुल्कले उल्लेख्य योगदान गरेको छ तर पर्यटकहरुको पैसाबाट पुननिर्माण गरिएका पोखरीहरुमा उनीहरु बिरलै मात्र जाने गरेका छन् । अन्तराष्ट्रिय स्तरका पर्यटक गाइड बुकहरुमा यहाँका पोखरीहरुको सुचना नराखिदा पर्यटकहरु जानकारीको अभावमा पोखरी अवलोकन गर्न छुटाउछन् ।

भादगाँउका पोखरीहरुमा नेपाली पर्यटकहरुको भीड भने देखिने गरिएको छ । भादगाउँ शहरमा सम्पदा संरक्षणको लागि बिभिन्न पर्वहरुमा मन्दिर परिक्रमा, विहार परिक्रमा र चैत्य परिक्रमा हुदै आएका छन् । त्यसै गरी नवरात्रीको दिनहरुमा पोखरीहरुमा मेला लाग्ने गरेको छ । भक्तपुरको ३३ पोखरी परिक्रमा गर्ने दिनको रुपमा बैशाख १ गतेलाई लिइएको छ ।

भक्तपुरका केही महत्वपुर्ण पोखरीहरु


सिद्धपोखरी


पश्चिम भक्तपुरमा रहेको यस पोखरीमा हरेक बर्ष इन्द्रजात्राको दिनमा मेला लाग्ने गरेको छ । सत्ताईस बर्ष यता स्थानीयबासीले सो दिन पोखरी परिसरमा दिपावली गर्दै आएको छन् । दिपावली हेर्नको लागि सो रात बीसौं हजार मानिस त्यहाँ पुग्ने गरेका छन् । भीडलाई ब्यबस्थित गर्न सो रात पोखरीको पूर्वी प्रवेशद्वार मात्र खुल्ला गर्ने गरिएको छ । त्यस साँझ आवागमनलाई भने एकतर्फी बनाइने गरिएको छ । भक्तपुर शहरकै सबैभन्दा ठुलो मनोरञ्जन क्षेत्रको रुपमा यसलाई विकास गरिएको छ । माछा पालन गरेर नगरपालिकाले आम्दानीको श्रोत समेत जुटाएको छ । पोखरी परिसर हरेक साँझ बिजुली बत्ती बालेर झिलिमिली पार्ने गरिएको छ । युवा पुस्ताको लागि यो पोखरी प्रमुख जमघट स्थल हुन पुगेको छ ।

नपुखु


टेलिकम टावरमुनि रहेको नपूखुको भित्री डिलमा ढुङगा बिछ्याउने कार्य १२ बर्ष अघि सकिएको छ । ढुङगा बिछ्याएपछि यहाँ भित्र मानिसको चहलपहल बढेको छ । पोखरीमा लागेका लेउहरु हटाइएका छन् । पोखरीको पानी सफा भएपछि पोखरीसँगैको बसपार्कका सवारी चालकहरुले दिनँहु आफ्नो सवारी पाखाल्न पोखरीको पानी प्रयोग गर्न पाएका छन् । पोखरीको उत्तरबाट चाँगुनारायण मन्दिर रहेको डाँडो र मन्दिरको गजूर समेत हेर्न सकिन्छ । पोखरी नजिकै रहेको सार्वजनिक पुस्तकालयमा नयाँ पुस्ताका लोकसेवा र भाषा परीक्षाको लागि अध्ययन गरिरहेका हुन्छन् । दक्षिणपट्टीबाट भने उपत्यकाको सबैभन्दा अग्लो पर्वत फुलचोकी डाँडामा रहेको एनटिभी टावर देखिन्छ । स्थानीय युवाहरु उक्त पोखरीको डिलमा दगुरेर विहान विहान शारीरिक अभ्यास गर्ने गर्दछन् ।

कालदह


भक्तपुर उद्योग क्षेत्र भित्र अनि नपुखुको मुन्तिर कालदह रहेको छ । जनैपुर्णिमाका दिनमा मेला लाग्ने यस कालदहमा चारैतिर देबदेबीका मुर्तिहरु स्थापना गरिएका छन् । कालदहको वरिपरि काष्ठकलाको गाउँ रहेको छ । काष्ठकलाको व्यापार गर्नेहरुको लागि यो पोखरी हेर्न छुटाउन नहुने मध्ये एक हो ।

चिल्ड्रेन पार्क


नवदुर्गा चलचित्र भवनको तलपट्टी शहीद पार्कभित्र रहेको पोखरी चिल्ड्रेन पुखु हो । भादगाउँ शहरमा आउने विद्यलयका विद्यार्थीहरुको मनोरञ्जनको लागि बनाइएको यस पोखरी परिसरमा विद्यार्थीहरु ड्राइ पिकनिक मनाउन जाने गरेका छन् । भादगाउँ को एउटै मात्र गोलाकार पोखरीको ररुपम रहेको यस क्षेत्रमा शहीदहरुको मुर्ति समेत कुदिएका छन् ।

भण्डारखाल पोखरी


भक्तपुर दरवारको टिकट बेच्ने ढोकाबाट प्रवेश गरे लगत्तै बायाँपट्टी फुलैफुल उम्रिएको एउटा ढोका देखिन्छ । सो ढोका भित्र छिरेपछि देखिने सानो पोखरी भण्डारखाल पोखरी हो । फुल फुलेको ढोकामा पुलिस थानाको साइनबोर्ड देखिन्छ । सो बोर्डको कारण पर्यटकहरुले त्यहाँ भित्र सुन्दर पोखरी रहेको अनुमान समेत गर्न सकेका छैनन् । यसै कारण भण्डारखाल पोखरी कमै मात्रले अवलोकन गर्ने गरेका छन् ।


सुन्दरी चोक


भक्तपुर दरवारको सुनढोका भित्र चारैतिर नागनागिनाको मुर्ति कुदिएको पोखरी छ । यो पोखरी रहेको ठाउँलाई सुन्दरी चोक भनिन्छ । यस चोकमा राजपरिवार सदस्यहरु स्नान गर्दथे भन्ने जनश्रुति रहेको छ । बर्तमानमा भने त्यहाँ दरबारभित्र हुने बली चढाइएका बोका पोल्न प्रयोग हुने छ्वाली र पराल भण्डारण गरिएका छन् ।


रुञ्चे पोखरी


भक्तपुर दरवारको मुलचोक भित्र पातपतिङगरले भरिएको एउटा पोखरी छ । यस पोखरीमा बालबालिकालाई स्नान गराइएमा रुञ्चेपना हट्ने बिश्वास रहेको छ । बि विदेशी पर्यटकहरुलाई यस पोखरीमा प्रवेशमा रोक लगाइएको छ । यहाँ तल्कालीन मल्ल राजाको कुल देबता रहेकोले विदेशीहरुलाई प्रवेश गर्न नदिइएको हो ।


ब्यासी पोखरी


नामुद गुण्डा र डनहरुको बस्ती रहेको ब्याँसीमा दुईवटा पोखरी छन् । यी पोखरी वरिपरिका बाटामा बिस्कुन सुकाइएको रमाइलो दृष्य देखिन्छ । यहाँका बासिन्दालाई लासिवा भनिन्छ । नेवार भाषामा लासिवा शब्दको अर्थ बाटोमा बिस्कुन सुकाउने मानिस भन्ने रहेको छ । ब्याँसीका पोखरीहरु भिरालो जमिनको फेदमा बनाइएको कारण अरु पोखरी भन्दा फरक देखिएका छन् ।


ख्योपुखुचा


महाकाली मन्दिरसँगै रहेको ख्योपुखुचामा सुतिरहेको विष्णुको मूर्ती राखिएको छ । यस पोखरीमा हरेक तीन बर्षमा साउन महिनाभरी मेला लाग्छ । यसैगरी हरेक बर्षको फुलपातीको दिनमा यहाँ भब्य मेला लाग्ने गर्दछ । अचाँ पुखूको नामले समेत यो पोखरीलाई चिनिन्छ ।


भौलापुखु


भोलाछे टोलमा रहेको भौलापूखूको बारेमा एउटा किबंदंती रहेको छ । जसअनुसार हाल पोखरी रहेको स्थानमा भौ अर्थात बिरालोहरु झगडा गर्दथे । यहाँ बिरालो झगडा गर्दा गर्दै कालान्तरमा ठुलो खाडल बन्न पुग्यो । सोही खाडल पछि भौलापुखूमा परिणत भएको भनाइ रहेको छ । पोखरी वरिपरि नारायण शिव र गणेशका मन्दिर रहेका छन् । पोखरी भित्र पेटी बनाएर गमलामा फुल रोपिएको छ ।


नागपोखरी


थालाछेंमा रहेको नागपोखरीमा रहेको नागका मूर्ति पूर्व दिशामा फर्केका छन् । सो पोखरीमा स्थानीय छिपा समुदायले धागोमा रंग लाउने गरेका छन् । प्रयोग भैसकेको रंग पोखरीको पानीमा मिसाइने भएकोले पोखरी रंगीन देखिने गरेको छ तर पोखरीको छेउमा फलामका खेलौना राखेपछि धागो सुकाउनको लागि ठाउँ अभाब भएको छ ।


नवदुर्गा पोखरी


दशैंमा राष्ट्रपति महोदय समेत दर्शनको लागि आउने नवदुर्गा मन्दिरको छैवैमा रहेको नवदुर्गा पोखरी फराकिलो रहेको छ । यो क्षेत्र भक्तपुरकी एकान्तकुमारी बिराजमान हुने प्रसन्नशील महाबिहार जाने प्रमुख थलो भएकोले यहाँ नेपाली पर्यटकहरुको चहलपहल बाक्लो हुने गरेको छ ।


लामागाल


कमलबिनायकको सरस्वती स्कुल परिसरमा रहेको लामागाल पोखरीमा हाँसहरु चरणको लागि आउने गरेका छन् । सुख्खायाममा स्थानीयले यहाँको पानी प्रयोग गर्दै आएका छन् । बास्तुकलाका बिद्यार्थीहरुले आफ्नो थेसिसमा यस पोखरी वरपर खुल्ला मञ्चको संम्भावना रहेको उल्लेख गरेका छन् ।


कमलपोखरी


दुई दशक अघिसम्म कमल फुल्ने गरेको कमलपोखरी हिलोमुक्त भएकोले यहाँ कमल त फुलेको छैन तर पोखरीको पश्चिम भागमा भने बगैंचा निमार्ण गरिएको छ । दक्षिणमा सन्ध्यकालीन मेला लाग्ने गरेको छ । पूर्वमा यातुगणेशको मन्दिर बिराजमान रहेको छ ।


गरुडकुण्ड


च्याम्हासिहमा रहेको गरुडकुण्डलाई कुम्ह समुदायले पार्कमा परिणत गरेका छन् । उनीहरुले त्यहाँ तीनसयको संख्यामा गमला राखेर फुल रोपेका छन् । पार्क भित्र रहेको गरुडकुण्डमा मुहानको पानी संकलन भैरहेको बिचित्रको दृष्य देखिन्छ । कुण्डमुनि झर्नको लागि सिँढीहरु समेत बनाइएका छन् ।


च्याम्हासिह पुखु


आठवटा सिहका मुर्ति रहेको च्याँम्हासिह पुखु एउट विद्यालय हातामा रहेको छ । सो विद्यालयका विद्यर्थीलाई पोखरीको पर्यावरणीय चक्र प्रणालीको प्रयोगात्मक ज्ञान दिन पोखरीको उपयोग हुदै आएको छ । बसपार्कसँगै भएकोले च्याम्हासिह आउने जो कोही देशी तथा विदेशी पर्यटकले यो पोखरी सडकबाटै अवलोकन गर्दै आएका छन् ।


खँचा पुखु


प्रसिद्ध पाँचतले मन्दिरको छाँया देखिने खँचा पोखरी खँचा टोलमा रहेको छ । माहेश्वरीखोलाको उकालो उक्लेपछि पुगिने खँचा पोखरीमा पानी नहल्लिएको बेला आधा किलोमिटर टाढा रहेको राष्ट्र बैकले जारी गरेको सय रुपैयाको नोटमा अंकित उक्त मन्दिर स्पष्टसँग देखिन्छ । साँझ घाम डुब्न अघि छायाँ अधिक स्पष्ट देखिने गरेको छ तर मन्दिर नजिकै बनेका अग्ला घरहरुले हाल छाया छेकिन्छ ।


यातापुखु


याता टोलमा दिनभरी घाम लाग्ने गर्दछ । यहाँ रहेको पानी यातापुखूमा यसै कारण पानी तातेको हुन्छ । जाडो महिनामा हनुमन्तेघाटमा माघको स्वस्थानी ब्रत बस्नेहरु यस पोखरीमा स्नान गर्न रुचाउछन् । यस पोखरीलाई तातो पानीमा स्नान गर्ने ब्यबसायिक पोखरीमा परिणत गर्ने स्थानीय सरकारको योजना रहेको छ । सुरक्षाको कारण यो पोखरीमा हाल ताला लगाएको छ ।


तेखापुखु


तेखापोखरीको नामले समेत चिनिएको भक्तपुरको बजार क्षेत्रमा पर्ने एक मात्र पोखरी हो । यो पोखरी बंशगोपालको बजार छेवैमा रहेको छ । पोखरी परिसरलाई पर्खालले घेरिए छि यसको सुन्दरता थपिएको छ । होली पुर्णिमाका दिनमा यहाँ रंग र पानी खेल्नेहरुको मेला लाग्ने गरेको छ । भक्तपुर सहरका बिभिन्न स्थानमा राखिएका पर्यटक नक्शामा समेत यसको संकेत देखाइएको छ ।


स्वरुप फेरिएका पोखरी


भक्तपुर शहरका केही पोखरी वेवास्ताको कारण संकटमा परेका थिए । पोखरीको पानी सदुपयोग गरी संरक्षणको चासो नदिइदा यी पोखरी संकटमा परेका हुन । गोङग पुखु, जेलाको पुखुचा, बेखाल पोखरी, याताबहारे पोखरी, थुगुचो पोखरी, देगमना पोखरी, मंगल कुण्ड लगायतका पोखरी अस्तित्व संकटमा परेको थियो । हाल सबै जसो पोखरीहरुको राम्रै अवस्थमा छ ।


कम प्रयोग भैरहेका पोखरी


पोखरीमा पानी जम्मा हुन छोडेपछि सुक्ने गरेको छ । सुकेका पोखरीहरु प्रयोग बिहिन अवस्थामा छन् । कुमारी पोखरी र ल्योसिङख्यो पुखु, शिावालय पुखु सुकेको अवस्थामा छ । गलसी पुखु, भुलाँपुखु, यालाछे पुखु, भीसिङख् पुख, लगायतका ठाउँहरुमा पोखरी पुरेपछि सरकारी कार्यलय र स्कूलहरु बनेका छन् ।


धारासँग जोडिएका पोखरी


अधिकांश धारामा पानी नभए पनि इन्द्रायाणी पुखुको पानीले नजिकैको धारामा चौबीसै घण्टा पानी बगिरहेको छ । चोर्चा पुखुमा भने धाराबाट निकास भएको पानी संकलन हुन्छ । सल्लाँ गणेश पुखुको पानीले तचपालको भीमसेन मन्दिरमा रहेको धारामा पानीको बहाव ल्याएको छ । हाल भक्तपुरमा रहेको धाराहरुमध्ये सबैभन्दा बढी पानी यसै धारामा बहने गरेको छ ।


खोला भित्रका पोखरी


हनुमाघाट स्थित त्रिबेणी पोखरी र चम्पाखोलामा रहेको काँलाचा दहमा धार्मिक आस्थाबाट स्नान गर्ने परम्परा छ तर खोलाको पानी दुषित भएकोले हनुमानघाटमा माघ महिनामा मात्र स्नान गर्ने चलन बाँकी छ । यस अघि काँलाचा दहमा स्नान गर्दा खटिराजन्य रोग निको हुने बिश्वास गरिन्थ्यो ।


छकुने पोखरी


हाल मर्मत भैरहेको यस पोखरी लैको टोल रहेको छ । यहाँ गोल्डेन फीस राखेर पोखरीको प्राकृतिक वातावरण बिग्रेको पाइन्छ । बिस्का जात्राको बेला यसै पोखरीमा भैरबको रथमा विराजमान भैल्योद्योलाई मासुको चोक्टा अर्थात लाको चढाउने चलन रहिआएको छ । यही लाको कै परिष्कृत नाम लैकोबाट यस पोखरी चिनिने गरिएको छ ।


सिलाचह्रे पुखु


मर्मतको लागि सरकारी बजेट पाएपछि गत दुई बर्षमा पुस्तक समेत प्रकाशित भएका दुई वटा पोखरीहरु यतिखेर चर्चित रहेको छ । यस अघि स्थानीय दुई फरक फरक क्याम्पसहरुको अधिनमा रहेका ती पोखरीहरु स्थानीय निकायको अग्रसरामा मर्मत भै सिलाचहे् अर्थात शिवरात्रीको दिन उद्धाटन गरिएका छन् । न्हू पुखु र भाजु पुखुमा शिवको मूर्ति स्थापना गरिएको कारण शिवरात्रीको दिन उद्घाटन गरिएका हुन् । यी दुई पोखरीलाई निकै पुरानो मानिएको छ।

पोखरी सर्किटको अबधारणा


पोखरीहरुमा चहलपहल कायम गर्न त्यस क्षेत्रमा पर्यटकहरको आवागमन नियमित हुनु पर्दछ । यतिमात्र नभएर चाडपर्व र मेलाका बेलामा पोखरी परिक्रमा गर्ने संस्कारको थालनी समेत गर्न सकिन्छ । यसरी गरिने परिक्रमालाई पोखरी सर्किट भन्न सकिन्छ । पोखरीको पानीको श्रोत मात्र नभएर आसपासको तापक्रम सन्तुलित राख्ने वैज्ञानिक पद्धति पनि हो । पोखरीको क्षेत्रहरुमा गर्मी र जाडोको अन्तर कम हुने गरेको छ । यसै कारण घनाबस्ती रहेका स्थानहरुमा पोखरी निमार्ण भएका हुन । यसरी बहुउपयोगी भक्तपुरका तीन दर्जन बढी पोखरीहरु तीन घण्टाको छोटो अबधिमा हेर्न सकिन्छ । यी पोखरी रहेको स्थानमा भ्रमण गर्दा आनन्दित हुन पाउने अवसर भक्तपुरको पोखरी सर्किट यात्रा उपलब्ध हुन्छ ।

/

Leave a Reply