भक्तपुर क्षेत्र नं.१ मा नेमकिपाका प्रेम र क्षेत्र नं.२ मा कांग्रेसका दुर्लभ विजयी

भक्तपुरका दुबै क्षेत्रको प्रतिनिधि सभा निर्वाचनको मत गणना सकिदा क्षेत्र नं.१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निकटतम प्रतिद्वनदी नेकपा (एमाले)का नवराज गेलाललाई ३०,७९३ मतान्तरले पछि पारी पुन: विजयी हुनुभयो भने भक्तपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का महेश बस्नेतलाई ९५७ मतान्तरले पछाडि पारी विजयी हुनुभयो ।

भक्तपुर क्षेत्र नं.१ का नेपाल मजदुर किसान पार्टीका सुवालले ४२,७६१ मत पाउदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का गेलालले ११,९६८ र राप्राका भरतबहादुर खड्काले ७,२२२ र नेकपा (माके)का सुनिल गोठेले ५,१६५ मत पाउनुभएको छ । चाँगुनारायण नगरपालिकाको मत गणना नसकिदासम्म नेकपा (एमाले)का गेलाल भन्दा केही पछि रहेका नेपाल मजदुर किसान पार्टीका सुवालले भक्तपुर नगरपालिकाको मत गणना समाप्त हुदा धेरै बढी मतान्तरमा विजयी हुनुभयो । यो क्षेत्रमा २०४८ सालदेखि यता सबै निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले जित्तै आएको छ । २०४८, २०५१ र २०५६ मा भएका प्रतिनिधि सभा तथा २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा सोही पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले जित्नुभएको थियो भने २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर नगरपालिकाका पूर्व मेयर समेत रहेका सुवालले जित्नुभएको हो ।

उता भक्तपुरको क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले २४,२३९ पाउदा नेकपा (एमाले)का महेश बस्नेतले २३,२८२ र नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ७,१२७ मत पाउनुभएको थियो । यो क्षेत्रमा २०४८ साल यताका चुनावमा कहिले , नेपाली कांग्रेस , कहिले नेपाल मजदुर किसान पार्टी र कहिले नेकपा (एमाले)का उम्मेद्वार विजयी हुदै आउनुभएको छ । इन्द्रेको बाउ चन्द्रे आएपनि आफूलाई हराउन नसक्ने भन्दै हिड्ने गरेका नेकपा (एमाले)का नेता महेश बस्नेतलाई सत्ता गठबन्धनका साझा उम्मेद्वार नेपाली कांग्रेस दुर्लभ थापा क्षेत्रीले पराजीत गर्नुभयो । यो निर्वाचनमा पराजीत बस्नेतले सोही निर्वाचन क्षेत्रमि २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा पूर्व सभामुख तथा नेपाली कांग्रेसका उम्मेद्वार दमननाथ ढुंगानालाई भारी मतान्तरले पराजीत गर्नुभएखो थियो ।

Leave a Reply