भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको अर्ध-बार्षिक समीक्षा २०८१ फागुण १० गते शनिबार केभि लञ्ज कमलविनायक, भक्तपुरमा सम्पन्न भयो । सोही संघका अध्यक्ष

कृष्ण गोविन्द लाखाजुले उक्त समीक्षा बैठकको अध्यक्षता गर्दै यस संघले बर्तमान अवस्थामा सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई जारी गरेको निर्देशन तथा मापदण्डमा समुदाय केन्द्रीत सहकारी अनुकूल संशोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जारी सहकारी सम्बन्धी अध्यादेशमा भएको व्यवस्था पालनामा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, संघको नियमित बचत र शेयर पूँजी बृद्धि गर्नुपर्ने लगायतको विषयमाथि चर्चा गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै सोही संघका उपाध्यक्ष हरिकृष्ण बल्लले संघले सहकारी सुशासन, वित्तीय अनुशान र अभियानको समीक्षा गर्नुपर्ने बताउनुभयो । यसैगरी त्यसै संघका सचिव जगनाथ प्रजापतिले सो संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उप-समितिहरुको बैठक बसी क्रियाशील हुनुपर्ने बताउनुभयो । यस्तै उक्त संघका कोषाध्यक्ष काञ्छाभक्त घजुले २०८१ पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले २०८१ पुष मसान्तसम्ममा लक्ष्यमा २०३ प्रतिशत उपलब्धी हासिल भई कूल वासलात रु. ३ अर्ब ८१ करोड र रु.३ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
संघका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले हाम्रो यो संघ यस बर्ष बागमती प्रोस्कून, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक लि.बाट उत्कृट सहकारी संघ पुरस्कारबाट पुरस्कृत हुन सफल भएकोमा बधाई तथा धन्यवाद दिदैं यस संघमा सूचना प्रवाहको छुटै कक्ष तथा जनशक्ति व्यवस्थापनको आवश्यकता औंल्याउनुभयो । उहाँले प्रस्तुत कार्यक्रम प्रगति प्रतिवेदनमा व्याख्यात्मक टिप्पणी गरी प्रष्ट्याउनुभयो ।

सो अवसरमा सोही संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघको प्राथमिक पूँजी कोष बृद्धि गर्न जगेडा कोेष र शेयर पूँजी बृद्धिमा जोड दिएको बताउनुभयो । उहाँले ७ प्रतिशत व्याजदरमा नै यस संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाहरुले सेवाको लाभ उपभोग गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा यस संघले वित्तीय लगानी मार्फत वित्तको व्यवस्थापन गरेको बताउनुभयो ।
उक्त समीक्षा बैठकमा उक्त संघको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी र सदस्यहरु तथा कर्मचारी गरी ३७ जनाको सहभागिता रहेको थियो ।






