भक्तपुर जिल्ला बचत संघको आयोजनामा भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.,भक्तपुरको भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा एक दिवसीय भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम २०८० बैशाख २९ गते भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सभाहल, च्याम्हासिंहमा सम्पन्न भयो । तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले भाका नाघेको ऋण असुली व्यवस्थापन तालिम विषयगत तालिम भएकोले सहभागिता उत्साहजनक रहेको बताउदै तालिममा ऋण असुली सम्बन्धी असल अभ्यासको आदान प्रदानले सहकारी संस्थाको भाका नाघेको ऋण असुलीमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले नियम विपरीत सञ्चालन भएका सहकारी संस्थाले आफूखुशी रकम चलाउनाले सहकारीमा हालको तरलता संकट आएको बताउनुभयो । उहाँले अहिलेको समस्या समाधान गर्न सहकारी बचाउ अभियानको पछि नलागी राष्ट्रिय सहकारी महासंघले आफ्नै संघ/ संस्थालाई एकजुट गरी अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सोही संघका सचिव एवम् भक्तपुर नगर सहकारी समन्वय उपसमितिका संयोजक जगनाथ प्रजापतीको अध्यक्षतामा सम्पन्न सो तालिममा उहाँले तालिमबाट सिकेका कुराहरुको व्यवहारमा उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त उपसमितिका सदस्य राजन जतीले तालिममा सहभागीहरुलाई स्वागत गर्दै संस्थामा रहेको भाका नाघेका ऋणको असुली व्यवस्थापन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताउनुभयो ।
तलिममा कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि., लुभू, ललितपुरका व्यवस्थापक कुमार खत्रीले सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले तालिममा सहभागी भएर मात्र तालिमको प्रभावकारीता नहुने, तालिममा सिकेका कुराहरु आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्नु पर्ने र तालिमको सिकाइले व्यवहार परिवर्तन हुने र बसेर सेवा होइन चलायमान सेवा दिनुपर्ने विचार व्यक्त गर्नु भयो ।

यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक बालकृष्ण धोजूले हाल आर्थिक मन्दीका कारण ऋणको सावाँ व्याज उठाउन सकस भइरहेको अवस्थामा ऋण असुली सम्बन्धी तालिम महत्वपूर्ण रहेको बताउनुभयो ।
उक्त तालिममा सहभागीहरुको तर्फबाट जनता बचत तथा ऋण सहकारी संस्था लि., चित्रपुका ऋण उपसमिति संयोजक दिनेश प्रजापतीले तालिम प्रश्नोउत्तर शैलीमा भएकोले प्रभावकारी रहेको बताउनुभयो ।

आय‍ोजक भक्तपुर नगर सहकारी समन्वय उपसमितिका सदस्य अनिलकुमार सुवालले सञ्चालन गरेको यो तालिममा सदस्य संस्थाबाट ५८ जनाको सहभागिता रहेको थियो ।

सोही अवसरमा तालिममा सहभागीहरुलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष लाखाजूले प्रमाण-पत्र प्रदान गर्नुभयो ।

Leave a Reply