ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनघात , राष्ट्रघात र भ्रष्ट्रचार विरोधी अभियान सञ्चालन गर्ने भएको छ । यही फाल्गुण २ र ३ गते काठमाडौंमा बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले २०८१ फाल्गुण १५ गतेदेखि २०८२ बैशाख मसान्तसम्म सो अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा बसेको सो बैठकले यो अभियान सञ्चालनको लागि त्यसै पार्टीका उपाध्यक्ष डा.शम्भु कट्टेलको अध्यक्षतामा अभियान व्यवस्थापन टोली गठन गरेको बताइएको छ । बैठकले देशभित्र भइरहेका भ्रष्टाचार, विकृति र विसंगति तथा संयुक्त राज्य अमेरिका लगायतका देशमा रहेका नेपालीहरुमाथि भइरहेका अपमानजनक व्यवहारको भत्सर्ना गरेेको छ । “संसदवादको अन्त गरौं ,नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अघि बढौं” भन्ने नाराका साथ यो अभियान सञ्चालन गर्न लागेको सो पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले बताउनुभयो । यो अभियानका क्रममा पर्चा वितरण, नागरिकसँग भेटघाट र अन्तर्क्रिया, विरोधसभा जस्ता दवाव र जागरणमुलक कार्यक्रम सञ्चालन हुने उहाँको भनाई छ । उहाँले हालै भारतको उडिसामा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युप्रति शोक प्रकट गर्दै उनको मृत्युको यथार्थ विवरण सार्वजनिक गरी दोषी उपर कारवाही गर्न र भारतमा अध्ययन, रोजगारी आदि कारणले रहेका सबै नेपालीहरुलाई शान्ति सुरक्षा प्रदान गरी सम्मानजनक व्यवहार गर्न भारत सरकारलाई अनुरोध गर्नुभयो ।





