पूर्व प्रधानमन्त्री खनाल पराजीत हुदा पूर्व सभामुख नेम्वाङको बर्चस्व कायमै

पूर्व प्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट आफ्नै राजनीतिक चैला महेश बस्नेतसँग भारी मतान्तरले पराजित हुदा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले भने आफ्नो इलाम क्षेत्र नं.२ मा पुन: आफ्नो बर्चस्व कायम गर्नुभएको छ ।

२०४८ र २०५१ सालको प्रतिनिधि सभा तथा २०६४ र २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा इलाम क्षेत्र नं.१ बाट विजयी हुनुभएका पूर्व प्रधानमन्त्री खनाल २०५६ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका बेनुपाज प्रसाईसँग झिनो मतान्तरले पराजीत हुनुभएपनि गत आईतबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भने इलाम नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका नेकपा (एमाले) का महेश बस्नेतसँग २,५०२ मतान्तरले पराजीत हुनुभयो । आफ्नो पार्टीको सांगठानिक आधार कमजोर भएपनि सत्ता गठबन्धनको भरमा चुनाव लडेका नेकपा (एस)का सम्मानित नेता खनालले २१,०८०२ मत पाउदा नेकपा (एमाले)का बस्नेतले २४,३०४ मत प्राप्त गरी विजयी हुनुभयो । यता पराजीत खनालले षडयन्त्रपूर्वक धाधली गरी आफूलाई चुनावमा हरायो बताउदै आउनुभएको छ तर नेकपा (एमाले)का नेता कार्यकर्ताहरुले खनालको सो अभिव्यक्तिलाई हरुवा गोरुको छेरुवा दाउ भनेर खिसिट्युरी गरिरहेका छन् । यस अगाडि सधै आफ्नो पार्टीका उम्मेद्वार खनाल र नेम्वाङलाई जिताउन लागिरहने बस्नेत यस पटक भने इलाम क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य बन्नुभयो ।

यस्तैगरी इलाम क्षेत्र नं.२ बाट २०५६ सालदेखि २०७४ सालसम्म भएका प्रतिनिधि सभा, संविधान सभा र प्रतिनिधि सभाको निर्वाचनमा निरन्तर विजयी हुनुभएका नेम्वाङले ११४ मनान्तरले नेपाली कांग्रेसका इलामका सभापति समेत रहेका डम्बरबहादुर खड्कालाई पराजित गर्नुभयो । निर्वाचन परिणाम घोषणा भएपछि इलाममा आयोजित कार्यक्रममा विजयी नेम्वाङले इलामको विकासको लागि आफूले सबैलाई संयोजन गरे अगाडि बढ्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । इलामको प्रतिनिधि सभातर्फका दुबै निर्वाचन क्षेत्रमा नेकपा (एमाले)ले पुन: आफ्नो बर्चस्व कायम राखेको छ ।

यता नेम्वाङसँग पराजीत नेपाली कांग्रेसका खड्काले कर्मचारीहरुले मतगणनामा बद्मासी गरी आफू सहित गठबन्धनलाई हराएकोले न्यायको लागि सर्वोच्च अदालत जाने सञ्चरकर्मीहरुलाई बताउनुभएको छ ।

Leave a Reply