भक्तपुर नगरपालिका-२ , इताछेंमा रहेको
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २०औं स्थापना दिवसको अवसरमा सो संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिको आयोजनामा “भक्तपुर नगरस्तरीय टेबल टेनिस प्रतियोगिता-२०८१” आजबाट शुरु भएको छ । भोलिसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन आज भक्तपुर नगर खेलकुद समितिका पूर्व संयोजक

रविन्द्र खर्बुजाले गर्नुभयो । सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले भक्तपुरमा खेलकुद क्षेत्रमा भएको विकासक्रम तथा इतिहास सम्बन्धी छोटो चर्चा गर्दै अगाजहरुले खेलकुद क्षेत्रमा गरेका योगदानको स्मरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले खेलकुद क्षेत्रमा युवा तथा नयाँ पुस्तालाई आवद्ध गराउन सके सभ्य र सुसंस्कृत समाजको निर्माणमा टेवा पुग्ने भएकोले प्रतियोगीहरु सबैलाई खेल मार्फत उत्कृष्ट प्रतिभा प्रर्दशन गर्न सकुन भनी शुभकामना दिनुभयो ।
भक्तपुर नगरपालिका २ नम्बर वडाका वडा सदस्य श्यामसुन्दर मातांले सहकारी संस्थाबाट सबै उमेर समूहलाई समेत्ने गरी प्रतियोगिताको आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै भक्तपुर नगरपालिकाबाट विभिन्न समयम खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
यस्तै भक्तपुर नगर टेबल टेनिस संघका अध्यक्ष इन्द्रभक्त पंचले खेलकुद गतिविधिले स्वास्थ्यलाई हुने लाभका बारेमा प्रकाश पार्नुभयो ।
आयोजक लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष

राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय कारोबारका अलावा जीवन उपयोगी घरेलु शीपमूलक तालिम, खेलकुद गतिविधि, भौगोलिक अध्ययन, उद्यमशीलताका तालिम तथा सांस्कृतिक उत्थानका गतिविधिहरु सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो । अहिलेको सहकारी संस्थाको अवस्था सम्बन्धी चर्चा गर्दै उहाँले सरकारबाट सहकारी सम्बन्धी ल्याएको अध्यादेशले सहकारी सिध्याउने षडयन्त्र भएकोले उक्त अध्यादेश खारेजका लागि सम्पूर्ण सहकारीकर्मी एकजुत भई संघर्षमा जुत्नु पर्ने खाँचो औल्याउनु भयो ।
उक्त संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उप-समितिका संयोजक राजु छुकांको अध्यक्षतामा भएको कार्यक्रममा सोही संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले पनि समसामयिक विषयमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
उक्त प्रतियगितामा विभिन्न पाँच वटा विधामा ९६ जना खेलाडीहरु प्रतिस्पर्धी रहेका छन् । सो प्रतियोगितामा २८ वटा विभिन्न सहकारी, विद्यालय र टिम क्लबका खेलाडीहरुको सहभागिता रहेको आयोजकको भनाई छ ।
प्रतियोगितामा १० जना प्रतिस्पर्धी रहेको छात्रा एकल तर्फ उरवी सुवाल, श्रोणा बासुकला, सेफिना कोजु र रेश्ना कोजु सम्पूर्ण प्रभात इ.से.स्कुलका खेलाडीहरु सेमी-फाइनलमा प्रवेश गर्न सफल भए भने १४ जना प्रतिस्पर्धी रहेको छात्र एकल कक्षा १० सम्ममा द राइजि· ई.स्कुलका दीपेश सुवाललाई सोही स्कुलका ओजिल सुवालले र एभरेष्ट ई.स्कुलका निरल बासुकलालाई प्रोक्सिमा इण्टरनेशलन स्कुलका रिजन ख्याजुले पराजित गरि फाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै १२ जना प्रतिस्पर्धी रहेको मेन्स् सिंगल कलेज समुह तर्फ सिद्धि गणेश साकोसका रजोजमान थकु, श्री छुमा गणेश साकोसका न्हुःज अवाल, ख्वप साकोसका ओशिस दुवाल, रोजन सुवाल र रस्किन आचार्य, भिन्तुना साकोसका न्युनिस सुवाल र लशकुश साकोसका रोशन आचार्य क्वाटर फाइनलमा प्रवेश गर्न सफल भए ।
३७ जना प्रतिस्पर्धी रहेको छात्र एकल कक्षा ७ सम्मको खेलमा प्रभात इ.स्कुलका सफल सुवालले प्रोक्सिमा इण्टरनेशनल स्कुलका अनुदीप नेपालीलाई, प्रोक्सिमा इ.स्कुलका अर्वित गाईजुले सोही स्कुलका युनिक आलेमगर, प्रोक्सिमाकै नयन लालुवाले प्रभातका श्रीयन लाखे तथा लनर्स एकेडेमीका प्रत्युश शिल्पकारले सिद्धि गणेश साकोसका रोनक चित्रकारलाई पराजित गरी सेमीफाइनलमा प्रवेश गर्न सफल भए । शनिबार ३५ बर्ष माथिका २० जना खेलाडी सम्मिलित माष्टर सिंगलको खेल सहित सम्पूर्ण प्रतियोगिताहरु सम्पन्न गरी पुरस्कार वितरण कार्यक्रम हुने जानकारी आयोजक संस्थाका पुण्यराम स्वंगमिखाले दिनुभयो ।









