सरकारले बिगतका वर्षहरुमा झैं यस वर्ष पनि आइतबारदेखि १५ दिने विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । यो अभियान निकै ठूलो तामझामका साथ शुरु भएको देखिएको छ । साना बालबालिकालाई विद्यालय पु-याउन सरकारले यसरी अभियान चलाउनु राम्रो हो तर विद्यालय प्रवेश गरेपछि तिनलाई विद्यालयमा नियमित रुपमा पठनपाठका लागि उचित वातावरण निर्माणमा सरकारले आवश्यक कार्य नगर्दा बीचैमा बालबालिकाले पढाइ छाड्ने क्रम शुरु हुने र शिशु कक्षामा भर्ना भएका मध्ये एस.ई.ई.मा सहभागी हुने बालबालिकाको संख्या आधा भन्दा पनि कम हुने गरेको जानकारहरु बताउछन् । राजधानी , शहरी क्षेत्र तथा सुगमका विद्यालय र कलेजमा पठनपाठन केही राम्रो भएपनि दुर्गम र देहातका ग्रामीण क्षेत्रका विद्यालय र कलेजको गुणस्तर सुधार हुन सकेको छैन । सरोकारवालाहरु भन्छन्- सरकारले विद्यालयमा विद्यार्थी भर्ना अभियानसँगै विद्यालय र कलेजको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन सकेमा र आर्थिक रुपमा विपन्न परिवार तथा अभिभावक बिहीन बालबालिकाका लागि उचित वातावरण बनाएमा मात्र सरकारले अगाडि बढाएको विद्यार्थी अभियानको सार्थकता रहने सरोकारवालाहरुको भनाइ छ ।





