- अमरावती बलामी महर्जन
सहकारीले थोरै थोरै लगानी गर्थ्यो । त्यल्लाई रोटेशन गर्न पाइन्थ्यो । अहिले सहकारी ठप्प भएका कारणले गर्दा पनि हामीले विजिनेश व्यवसायहरु अगाडि बढाउन सकेका छैनौं । मलाई के लाग्छ भने- अर्थतन्त्रको ३ खम्बे अर्थनीतिमा सहकारीलाई एउटा प्रावधान दिइएको छ तर पनि यल्लाई राज्यले स्वीकार गर्ने कुरामा चाहिँ अलिकति पछाडि हटेको हो कि भनेर अहिले हामीले सहकारी यानेकी राष्ट्रिय सहकारी बचाऔं अभियान मार्फत लागिरहेका छौं । धेरै कुरा आइसकेको छ । सबै जना जोडिनु भएको छ यो सहकारीमा ।
व्यवसाय गर्नेहरुका लागि चाहिँ पो सहकारी क्षेत्र भनेको पेट्रोल हो । जोल्ले पेट्रोल राख्छ नि- गाडी गुड्छ – बाइक गुड्छ , हरेक कुरामा त्यो थोरै हो तर गुड्छ नि त । त्यसकारण यसको महत्वको बारेमा चाहिँ हाम्रो राज्यले पनि ध्यान दिनु आवश्यक छ । अघि पूर्व बक्ता सरले भन्नुभयो- सहकारी जाओस् भनेर । त्यसले मलाई मनमा कता दुख्यो क्या ।
२४ वर्ष भयो सहकारीमा मैले मेरो आफ्नो भविष्य खोज्दै छु र सँगै मसँग जोडिएका महिला दिदीबहिनीहरुको पनि भविष्य खोज्दै छु । भनेदेखिन सहकारी जानु हुदैन । सहकारीलाई बचाउनुपर्छ , जसले अर्थतन्त्रलाई टेवा पु-याइराखेको छ । त्यतिमात्रै नभइकन , जो दिदी बहिनीसँग- निम्न आय भएकादेखि- मकै पोलेर व्यवसाय गरेर जम्मा गर्नेदेखि लिएर हाइड्रोसम्म पु-याउने चाहिँ सहकारी क्षेत्र छ भने यसको संरक्षण गर्न तपाईं हामी लाग्नुपर्छ ।
आज धेरै जनाले, सहकारीको जत्ति नै हल्ला भएतापनि जुन सदस्य ज्यूहरुले यसको महत्व बुझेर यल्लाई प्रकाश पारी दिनुभयो , म हृदयदेखि नै धन्यबाद दिन चाहान्छु ।
अब सहकारी क्षेत्रको कुरा गर्दाखेरी दुई/तीनटा कुराहरु माग राखेर अगाडि बढेका छौं वा हामीले जस्तो कुखुराले आफ्ना चल्लाहरुलाई कति घेर्न सक्छ , त्यत्तिसम्मको कार्यक्षेत्र बनाएर सहकारी संस्था अगाडि बढायो भने पक्कै पनि त्यसको दिगो विकास हुन्छ तर त्यल्ले ओगट्नै नसक्ने गरेर कार्यक्षेेत्र बनाउदाखेरी त्यो किनकी आफ्नो चल्ला कहाँ पुग्यो भनेर हेर्न सक्ने अवस्थै छैन भने चाहिँ त्यो सहकारीको दीर्घकालीन विकास हुदैन । त्यसकारण कार्यक्षेत्रका कुरा छन् र सँगै ३३,००० सहकारीबाट अहिले २८,००० सहकारी छ मर्जर भएर तर स्थानीय सरकारले सहकारीलाई फेरि पुन: दर्ता प्रक्रिया गरिराखेको छ । एकातिर सहकारी मर्जर र अर्कातिर नयाँ दर्ता दिने । यो कारणले सहकारीमा दोहोरो कुरा आइराखेको छ । यो विषयमा पनि सरकारको ध्यान जानु आवश्यक छ ।
म जब सहकारी अभियानमा लागें, लगभग ८/९ वर्ष भयो । त्यो समयमा यदी सहकारी क्षेत्रलाई विकास गर्ने हो भने , जसरी कि हामी मेञ्चेष्टरमा गएर सहकारी अध्ययन गरेर आयौं । अन्यत्र चाहिँ सहकारी गरिबी निवारणको एउटा प्रमुख कारण बन्न सकेको थियो भने हाम्रो नेपालमा चाहिँ राजनीतिक थलो बन्यो । राजनीतिलाई अगाडि बढाउन चाहिँ सहकारी क्षेत्रलाई रोजियो तर हामीले जुन उद्देश्यले सहकारीको स्थापना गरेका थियौं- २०१३ सालमा बखानमा । त्यसकारण आज हामीले ६६ वर्ष भइरहदा सहकारीको हेर्ने दृष्टिकोणै फरक छ । आज म सहकारीकर्मी हो भनेर खुलेआम यसरी निर्धक्क भन्नलाई पनि डर लाग्ने । यो ठग हो कि – बद्मासी गर्छ कि । यो खालको सोच बनाइराखेको छ नि त समाजले । यल्लाई चिर्नको लागि राज्यले यस्तो नीति लेइदियोस् भनेर मैले आजभन्दा ८ वर्ष अगाडि यस्तैगरी इन्टरभ्यू पनि दिएको थिएँ । पत्रिकामा पनि आएको थियो कि जबसम्म कुन व्यक्तिले कति रकम कुन सहकारीबाट लिएको छ भनेर जान्न जबसम्म सहकारी कर्जा सूचना केन्द्रको विकास हुदैन , तबसम्म सहकारीलाई व्यवस्थित गर्न सकिदैन भनेको थिएँ । यो पनि हाम्रो माग हो ।
त्यस्तैगरी कर्जा असुली न्यायधीकरण , जुन ऐनमा पनि उल्लेख छ, बनाउनको लागि हामीले सरकार समक्ष अपील गरेका छौं । यी दुईटा कुरालाई विशेष जोड दिएर हामी आन्दोलनमै अगाडि बढेका छौं । यसको नेतृत्व राष्ट्रिय सहकारी महासंघका आदरणीय हाम्रो ओमदेवी दिदीले लिनुभएको छ , उहाँ पूर्व सांसद पनि हुनुहुन्छ । त्यसकारण हामी नेपाल अधिराज्यभरी राष्ट्रिय सहकारी बचाऔं अभियानमै लागेका छौै । अहिले मैले धेरै कुरा भनिन । यसमा रोजगारीका कुरा छन् । सहकारीले धेरै जनतालाई प्रत्यक्ष रोजगारी दिएको छ । आज सहकारी नै खारेज गरौं – लघुवित्त नै खार्ज गरौं भनिराख्दाखेरी बचत तथा ऋणको काम त बैंक तथा वित्तीय संस्थालाई दिइएला तर त्यो संघ/संस्थाले दिएको रोजगारीलाई कहाँ व्यवस्थापन गर्ने ? फेरि एयरपोर्टमा लाइन लगाउन पठाउने हो ? यहाँका जति पनि बेरोजगार भएका जनतालाई एयरपोर्टमा लाइन लगाउन लाने हो ? त्यो पक्कै पनि होइन । अस्ती सामाजिक सञ्जालहरुमा हेर्दै थिएँ – म आफै सुत्ने टाइममा रोएर सुतेँ – मेरो आँशु नै आयो किनभने यति साना , १७/१८ वर्षका बच्चाहरु आफन्तलाई छोडेर त्यो एयरपोर्टमा रुदै बिदा भएको दृश्य हेर्दै थिएँ । त्य अति दयनीय थियो ।
आज कफी व्यवसायमा हेर्नुहोस्- १ करोड भन्दा बढी जनतालाई रोजगारी दिन सक्ने अवसर हाम्रो नेपालमा छ भनेदेखिन् हामी ती कुराहरुलाई किन अगाडि बढाउन सक्तैनौं ? सम्बन्धित निकायको ध्यान त्यहाँ किन जादैन ? यो कुरालाई चाहिँ तपाईं हामी मिलेर जुन आर्थिक कारोबार गर्छौं , रुपैया पैसाको कारोबार गर्छौं । बैंक , लघुवित्त , वीमा कम्पनी , सहकारी संस्था, यो सबै जना एउटै चौतारीमा आएर अहिलेको समस्या समाधानको निकास खोोज्नु आवश्यक छ र समस्यासँगै समाधान आउँछ है किनभने अहिले यति धेरै समस्या आएको छ नि त तर समस्या आईसकेपछि त्यसको समाधानको निकाश हुन्छ । त्यसमा सकैको ध्यान हुन्छ । आज हामीले चाहिँ योसँग नि पैशा छैन – ऊसँग नि पैशा छैन । पैशा कहाँ हरायो ? अब हामी त अर्थतन्त्रमा एकदमै डामाडोल छौं भनिरहदा अघि विज्ञ ज्यूले राख्नु भएको कुरााले हामीमा एक प्रकारको उत्साह मिलेक छ । हामी यहाँ बसिरहेका जति जनाले थाहा पायौं नि – हामीले सोच्ता ओहो बैंकसँग यति धेरै लगानी गर्ने पैशा रै’छ । हाम्रो सबै आर्थिक कुरा वृद्धि भएको छ क्या – अनसिन रुपमा पछाडि । बाहिर देखिदाखेरी चाहिँ हामी सबै धाराशाही छ । व्यापार छैन । विजिनेश छैन । सबै खोलेको बन्द भइराखेको छ । यो अवस्था छ नि त तर यसलाई पनि व्यवस्थित गर्नको लागि अर्थतन्त्रबाट अगाडि बढाउन सरकार समक्ष यो अनुरोध गर्न चाहान्छु कि अहिलेको परिस्थितिमा कस्तो खालको प्रक्रिया अगाडि बढाउदाखेरी सबै अर्थतन्त्रलाई समावेशी हुन सक्छ । एक एक कुरा लिएर नाराबाजी गर्ने अनि यसरी नै आन्दोलनमा जाने । कहिले बैंकहरु आन्दोलनमा जाने , कहिले बैंक बिरुद्ध आन्दोलनमा जाने , कहिले व्यवसायी आन्दलनमा जाने । यो वर्ष आन्दोलनको वर्ष भनेर भन्न मन लागिरहेको छ । सहकारीकर्मी हामी पनि आन्दोलनमा उत्रिएका छौं । त्यसकारण यी सबैको कुनै न कुनै आन्दोलन नभईकन त्यसको सही परिणाम आ’को पनि छैन ।
अबको अर्थतन्त्रले नयाँ बाटो ल्याउने छ भनीकन ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्णलाई शुभकामना दिदै आउदै गरेको नव वर्ष २०८० मा सबैको मुहारमा हासो आउन सकस भनी शुभकामना व्यक्त गर्दछु ।
(जिल्ला सहकारी संघ लि.,काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., सीतापाइला, काठमाडौंकी अध्यक्ष महर्जनले शुक्रबार मिडिया इन्टर नेशनलले आयोजना गरेको “संकटमा अर्थतन्त्र : बहसमा निकास” विषयक कार्यक्रममा व्यक्त गर्नु भएको विचार ।)





