गोविन्द खत्रीको संयोजकत्वमा अखिल नेपाल किसान यूनियन, बागमती प्रदेश समिति पुनर्गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियनको हिजो ललितपुरमा भेला सम्पन्न भयो । भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की , सो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव राजकुमार थापा र सोही पार्टीका केन्द्रीय समिति सदस्य तथा पिपुल्स फोर्स नेपालका सह-संयोजक जीवन्द्र निलगगन लगायतले आ-आफ्नो विचार व्यक्त गर्नुभयो । भेलाले गोविन्द खत्रीको संयोजकत्वमा अखिल नेपाल किसान यूनियनको बागमती प्रदेश संयोजन समिति पुनर्गठन गरेको छ । उक्त समितिको सह-संयोजकमा रामचन्द्र खड्का तथा सदस्यमा सरिता धामी , शंकर सेञ्चुरी लगायत रहेको जनाइएको छ ।

भेलाले सरकारले किसानका नाममा वितरण गरेको अनुदानको छानविन गरी गयर किसानले लिएको अनुदान जफत गरी त्यसरी लिने र दुबैलाई कडा कारवाही गर्नु पर्ने र वास्तविक किसानलाई आवश्यक अनुदान सहयोग तथा सहुलियत व्याजदरमा ऋण प्रदान हुने व्यवस्था गर्नु पर्ने , किसानहरुको कृषि फर्म दर्ता विना झञ्झट सहज ढंगबाट गर्नु पर्ने , कृषकलाई आवश्यक मल , वीऊ ,औषधि ,औजार लगायतका जिनिस समयमा उपलब्ध गर्नु पर्ने , विषादीरहित सामाग्री उत्पादन गर्ने कृषकहरुलाई सो कार्य गर्न थप प्रोत्साहन गर्नु पर्ने , कृषि कार्यमा लागेका मानिसहरुलाई सहुलियत दरमा खेतीयोग्य जमिन उपलव्ध हुने उचित वातावरण बनाउनु पर्ने , कृषकले उत्पादन गरेका सामाग्री बजारसम्म पु-याउन आलश्यक सहयोग गर्नु पर्ने , खेतीपातीका लागि आवश्यक सिञ्चाई र प्रविधिको व्यवस्था गर्नु पर्ने तथा कृषकहरुलाई सम्बन्धित विषयमा समय-समयमा तालिमको व्यवस्था गर्न पर्ने , जंगली जनावरबाट कृषकले उत्पादन गरेका वालीनालीको सुरक्षाको प्रबन्ध गर्नु पर्ने , आकाशिएको महङ्गी नियन्त्रण गर्नु पर्ने र आर्थिक विपन्न परिवारका लागि राशन कार्डको व्यवस्था गर्नु पर्ने , कसैलाई पनि देशको राष्ट्रिय एकता र सार्वभौमसत्तामा आँच आउने गतिविधि गर्न नदिन माग गरेको छ ।

Leave a Reply