ट्राफिक प्रहरी , वातावरण विभाग र लोत्सै बहुउद्देश्यीय कम्पनीले यातायात मजदूरहरु माथि ज्यादती गरेको भन्दै विरोधमा उत्रिएका यातायात मजदूरहरुलाई गोंगबु बसपार्कको ठेकेदार लोत्से बहुउद्देश्यीय कम्पनीका कर्मचारीहरु र सो कम्पनीसँग सम्बद्ध व्यक्तिहरुले अभद्र व्यवहार गरेपछि यातायात मजदूरहरुको आन्दोलनले उग्र रुप लियो , जसका कारण यातायात मजदूरहरुले सडकमा सवारी साधन तेर्स्याएर अवरोध खडा गरे । आन्दोलनमा उत्रिएका मजदूरहरु माथि सुरक्षाकर्मीले दमन गरेको भन्दै आन्दोलनकारी थप आक्रोसित भए । आन्दोलनका क्रममा तोडफोड र आगजनी समेत भयो । जसका कारण भिडले बालाजूमा रहेका ट्राफिक प्रहरी र जनपथ प्रहरीको अस्थायी बिट तोडफोड गर्नुका साथै माछापोखरीमा प्रहरीका २ वटा भ्यानमा आगजनी ग-यो । त्यसैगरी भिडले नयाँबसपार्कस्तित लोत्से बहुउद्देश्यीय कम्पनीको लोत्से भवनमा डुंगामुडा गरी तोडफोड समेत ग-यो । आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार ग-यो तर भिडले साझसम्म डटेर लडिरह्यो । प्रहरीले तोडफोडमा सम्लग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सो आन्दोलनका कारण सवारी साधन नचल्दा पैदलयात्रीहरुले सास्ती भोगेका थिए



सवारी साधन चलाउदा कुनै गल्ती भेटेमा चालकलाई कुनै सावधान र चेतावनी नदिई एकैचोटी ट्राफिक प्रहरीले १,५०० रुपैयाको चिट काट्ने , सवारी साधनको वातावरण परीक्षण गर्दा खरावी देखिए एक लाख रुपैयासम्म जरिवाना गर्ने , काठमाडौं उपत्यकाबाट बाहिर जाने र काठमाडौं उपत्यकामा भित्रिने सवारी साधन तथा काठमाडौं उपत्यकामा गोंगबु हुदै चल्ने सवारी साधन नयाँ बसपार्कमा प्रवेश गरी नयाँ बसपार्कको ठेकेदार लोत्से बहुउद्देश्यीय कम्पनीले तोकेको शुल्क उसलाई बुझाउनै पर्ने लगायतका कार्य विरुद्ध ३ वटा मजदूर संगठनले यातायात विभागमा १० सुत्रीय मागपत्र बुझाएपनि ती मागको सुनुवाई नभएपछि पूर्व घोषित कार्यक्रम अनुसार आज नयाँ बसपार्कमा विरोध कार्यक्रम गर्न लाग्दा उनीहरु माथि लोत्से बहुउद्देश्यीय कम्पनी सम्बद्ध व्यक्तिहरुले कुटपिट गरी अभद्र व्यवहार गरी नयाँ बसपार्कमा छिर्न नदिएपछि आज दिउसो एकाएक आन्दोलनले उग्र रुप लियो ।
आन्दोलनरत यातायात मजदूर संगठनहरुले भोलिबाट काठमाडौं उपत्यकामा अनिश्चित कालसम्म सम्पूर्ण यातायातका साधन नचलाउने घोषणा गरेका छन् ।







