नि: बर्तमान उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले आज जिल्ला प्रशासन कार्यालय , काठमाडौंबाट पुन: नेपाली नागरिकताको प्रमाण-पत्र प्राप्त गरे लगत्तै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन हुनुभएको उक्त पार्टीले जनाएको छ । सो पार्टीको सभापति चयन भएसँगै उहाँलाई पुन: गृह मन्त्री बनाउनु पर्ने दवाव प्रधानमन्त्री प्रचण्ड समक्ष बढ्दै गएको बताइएको छ । रास्वपाका नेताहरुले गृह मन्त्रालय हाम्रो मन्त्रालय भएकोले त्यस बारेमा निर्णय गर्ने छुट कसैलाई नभएको बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पनि लामिछानेलाई गृह मन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई बताएको प्राप्त खबरमा उल्लेख छ । नेपालको संविधान ,२०७२ मा संघीय संसदको दुबै सदनको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था छ ।
लामिछानेले आज नेपाली नागरिकताको प्रमाण-पत्रको लागि जिल्ला प्रशासन कार्यालय , काठमाडौंमा निवेदन दिएपछि कानूनी प्रक्रिया पूरा गरी उहाँलाई जिल्ला प्रशासन कार्यालय , काठमाडौंले नेपाली नागरिकताको प्रमाण-पत्र प्रदान ग-यो । लामिछानेले पुन: नेपाली नागरिकताको प्रमाण-पत्र पाएसँगै पुरानो नेपाली नागरिकताको प्रमाण-पत्रको आधारमा लिएको राहादानी आजै राहदानी विभागमा बुझाउनुभएको जनाइएको छ ।





