गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह प्रयास गरेका कारण उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएका इलामको सूर्योदय नगरपालिका-११, केराबारीका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको पार्थिव शरीरको आज विहान काठमाडौंको पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहमा अन्तेष्टि गरिएको छ । हिजो दिउसो ३:०० बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने भन्ने खबर सुनेर केही मानिसहरु हिजो पशुपति आर्यघाट पुगेका थिए तर अन्तिम समयमा प्राविधिक कारणले आचार्यको परिवारले उनको पार्थिव शरीरको अन्तेष्टि आज विहान गर्ने निर्णय गरेको थाहा पाएपछि उनीहरु त्यहाँबाट हिडेका थिए ।
परिवारले दिवंगत आचार्यको मृत्यु पछिको क्रियाकर्म भने इलामको केराबारीस्थित आफ्नै घरमा गर्ने बताएका छन् । दिवंगत आचार्यका श्रीमती र २ छोरी छन् ।
यही माघ १० गते मंगलबार दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरी संघीय संसद भवन बाहिरने क्रममा दिवंगत आचार्यले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सुरक्षाकर्मीले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि तत्कालै कीर्तिपुरस्थित वर्न अस्पतालमा पु-याएको थियो । आगोले जलेर ८० प्रतिशत शरीर जलेको अवस्थाका आचार्यको सो अस्पतालको आईसीयुमा उपचार शुरु गरिएको थियो । सोही दिन साझ उपचाररत आचार्यलाई भेट्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्की भेट्न पुग्नुभएको थियो । राज्यमन्त्री कार्कीले उनलाई आईसीयुमा भेटेको दृश्यको भिडियो सार्वजनिक भएपछि त्यो कार्य सहित राज्यमन्त्री डा.कार्कीको सर्वत्र आलोचना भएको थियो तर राज्यमन्त्री डा. कार्कीले भने कर्तव्यबोध भएर आफूले आचार्यलाई भेटेको विचार व्यक्त गर्नुभएको छ ।
जलेर घाइते भएका आचार्यले तत्कालीन उप-प्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेलाई भेट्न चाहेपनि उनको त्यो इच्छा पूरा हुन सकेन । गत माघ ११ गते विहान निधन भएका आचार्यको पार्थिव शरीर भने तत्कालीन उप-प्रधानमन्त्री तथा गृह मन्त्री लामिछानेले सोही अस्पतालमा पुगेर देख्नुभएको थियो । उहाँले आचार्यको पार्थिव शरीर हेरेपछि मात्रै परिवारले उनको पार्थिव शरीर जिम्मा लिएको थियो ।
आचार्यको आत्मदाह योगमायाको समूह पछिको ठूलो आत्मदाह
गत मंगलबार विभिन्न विषयको समस्या आफ्नो फेसबुकमा पोष्ट गरी आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको यो घोषित आत्मदाह वि.सं.१९९९ साल असार ३१ गते भोजपुरको नेपालेडाँडाकी वाल विधवा योगमाया न्यौपाने सहित ६८ जनाको समूहले यो पापी राज्यमा बाँच्नुको अर्थ छैन भन्दै तत्कालीन राणा शासन विरुद्ध विद्रोह गरेर अरुण नदीमा हाम फालेर आत्मदाह गरेपछिको घोषित ठूलो आत्मदाह रहेको जानकारहरु बताउछन् ।





