सरकार र यातायात मजदूर संगठनहरु बीच ५ बुँदे सहमती

आज बिहान ९ बजेदेखि सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र १० सुत्रीय माग पूरा गराउन आन्दोलनमा उत्रिएका मजदूर संंगठनका प्रतिनिधि बीचको छलफलबाट ५ बुँदे सहमती भएको छ । बैठक सकारात्मक ढंगबाट अगाडि बढेकाले आन्दोलनरत मजदूर संगठनहरुले आज गरेको यातायात बन्द कार्यक्रम स्थगन गरेका थिए । सो छलफलबाट निम्नानुसारका सहमती गर्ने निर्णय भएको छ ।

निर्णयहरु :

१. उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयहरूका सम्बन्धमा मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने ।

२. मिति २०७९/११/०१ गते काठमाडौँस्थित गोंगबु नयाँ बसपार्कमा मजदुरहरूले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मिति २०७९/११/१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाई गर्ने ।

३. (क) मिति २०७९/१०/११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने ।
३. (ख) मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकता अनुसार आमन्त्रण गर्ने ।

४. मिति २०७९/११/०२ गते आव्हान गरिएको सार्वजनिक यातायात हड्ताल कार्यक्रम स्थगन गर्ने र यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरिएका सबै कार्यक्रम स्थगन गर्ने ।

५. काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रा.लि. बीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रा.लि., महानगरपालिका र सम्बद्ध मजदुर संघ संगठनहरु र यातायात व्यवसायी महासंघहरु बीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने ।

Leave a Reply