सवारी दुर्घटनामा घाइते सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री सिंह सहित ३ जनाको निधन

आज दिउसो बझाङको केदार स्यू गाउँपालिकाको धारछडामा भएको सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उहाँकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको उपचारको क्रममा निधन भएको जनाइएको छ । मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा अपरान्ह ५:३३ बजे निधन भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ । त्यस अघि नै उहाँकी पत्नी अमृता र भाउजू जयादेवीको देउरा मेडिकलमा निधन भएको प्रहरीको भनाइ छ ।

स‍ोही दुर्घटनामा परी घाइते भएका मन्त्री सिंहका सवारी चालक धर्मराज ज‍ोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा आज दिउँसो २ बजेतिर मन्त्री सिंह सहित ५ जना सवार सु.प.प्र.०१००१ झ ४८० नम्बरको कार धारछडाको सडकबाट ५० मीटर जति तल कालङ्गा खोलाको किनारमा खसेको बताइएको छ । त्यस दुर्घटनामा घाइते भएका मन्त्री सिंह तथा उहाँँका पीएसओ प्रहरी सहायक हवल्दा, भण्डारी र सवारी चालक जोशीलाई हेलिकप्टरबाट क‍ोहलपुर मेडिकल कलेज तथा उहाँकी पत्नी र भाउजूलाई देउराको निजी मेडिकलमा उपचारका लागि लगिएको थियो ।

मन्त्री दिवंगत सिंह २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा बझाङ जिल्लाक‍ो ‘क’ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट १७,११२ मत प्राप्त गरि सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply